चारपाने । 

झापा बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको विस्तारित छलफल कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आज (शनिवार) बिर्तामोड–२ स्थित चारपानेमा १३ औं बार्षिक साधारणसभा तथा चौथों अधिवेशनकाको विस्तारित छलफल कार्यक्रम सम्पन्न गरेको हो ।  

विस्तारित वैंठकमा आगामी असोज २५ गते हुने १३ औं बार्षिक साधारणसभा र चौथो अधिवेशनका बिषयमा प्रस्तुत गरिने विभिन्न प्रस्ताव र निर्वाचन प्रक्रियाका बिषयमा छलफल गरेको छ । 

संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको विस्तारित बैठकमा संस्थापक संरक्षक तथा नेपाल दशनामी समाज केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, सल्लाहकार हर्कलाल गिरी, लभकुश गिरी, चन्द्रप्रसाद गिरी, पार्वता गिरी, नेपाल दशनामी समाज कोशी प्रदेशका अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) लगायतको आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु) ले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश संस्थापक संरक्षक गोविन्दबिक्रम गिरीले पारेका थिए । 

संस्थाका अध्यक्ष भरतलाल गिरीले संस्थाको बित्तिय अवस्थाका बिषयमा जानकारी गराएका थिए । उनका अनुसार संस्थामा गत असार मसान्तसम्म एक हजार ७४१ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी एक करोड ८४ लाख ३ हजार ४००, कोष हिसाव ८० लाख ७७ हजार ४७५ रुपैयाँ ४९ पैसा, निक्षेप रकम १ करोड ३२ लाख २६ हजार ७८६ रुपैयाँ ६५ पैसा, कर्जा लगानी ३ करोड ४२ लाख ४६ हजार ६२५ रुपैयाँ ९० पैसा रहेको छ । संस्थाले यस आर्थिक बर्षमा ६० लाख ६५ हजार ८६५ रुपैयाँ ३४ पैसा आम्दानी गरेको छ भने खर्च ३७ लाख ८१ हजार ४० रुपैयाँ ८१ पैसा गरी २२ लाख ८४ हजार ८२४ रुपैयाँ ५३ पैसा नाफा गर्न सफल भएको अध्यक्ष गिरीले जानकारी दिए । 

कोषाध्यक्षको प्रतिवेदन कोषात्तयक्ष खड्ग गिरीले गरेको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक इन्द्रमणि पौडेलले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शंकर गिरीले गरेका थिए । 

दशनामीहरुको बाहुल्यता रहेको साकोसले हाल पाँच वडा क्षेत्र विभाजन गरी कार्य सम्पाद न गर्दै आएको छ । जस अन्तरगत मेचीनगर, भद्रपुर अन्तरगत हल्दीबारी, कचनकवल, बिर्तामोड अन्तरगत बाह्रदशी, अर्जुनधारा अन्तरगत बुद्धशान्ति, र कनकाई अन्तरगत दमक, शिवसताक्षी, गौरादह, झापा र कमल रहेका छन् । संस्थाले हल्दीवारीमा एउटा सेवा केन्द्रबाटसमेत सेवा प्रदान गर्दै आएको छ ।  

संस्थाले आगामी हुने अधिवेशनका लागि हर्कलाल गिरीको संयोजकत्वमा उद्धव पुरी, रमेशचन्द्र पुरी सदस्य रहेको निर्वाचन उप–समितिसमेत गठन गरेको छ । विस्तारित वैठकमा संस्थाका संरक्षक, सल्लाहकार, तथा संस्थाका बिभिन्न तह र तप्कामा रहनेले सल्लाह सुझाव दिएका थिए ।