चारपाने ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी कार्यालय पुनःनिर्माणका लागि एकका लागि एक अभियानले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । गत भदौं २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त झापाका प्रहरी कार्यालयहरु पुनःनिर्माण तथा मर्मत सम्भार गर्न एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले देशको यस विषम परिरिस्थतिमा अभियानको तर्फबाट १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
कोभिड–१९ को महामारीमा समुदायबाट उठेको रकम मध्ये खर्च भएर बचत रहेको रकमबाट एक करोडको इमर्जेन्सी रेसपोन्स फन्ड बनाइएको थियो । त्यसको ब्याजबाट अहिले संकटको घडीमा झापाका प्रहरी कार्यालयहरु पुनःर्निर्माण तथा मर्मतसम्भारका लागि १० लाख रुपैयाँको सामग्री प्रदान गरिने अभियानका संयोजक गिरीले जानकारी दिएका छन् ।
अहिले प्रहरी कार्यालयलाई सहयोगसँगै एक करोडको कोषलाई ५ करोड पुर्याउने तर्फ पनि सोच्न सामाजिक अभियान्ता तथा अभियानका संयोजक गिरीले सवैमा आग्रहसमेत गरेका छन् । एउटा संकटमै जन्मिएको उक्त अभियान र त्यो वचतको ब्याज आज अर्काे संकटमा काम लागेको उनको भनाई छ । महामारीबाट समुदायलाई बचाउन जन्मिएको एकका लागि एक अभियान र उक्त अक्षयकोषको महत्व आज बढ्दै गएको छ ।


















