बिर्तामोड ।
जेनजी अन्दोलनका क्रममा क्षतिग्रस्त वनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा पुनःनिर्माण तथा मर्मत सम्भार भइरहेको छ । गत भदौं २४ गते देशव्यापी रुपमा भएको जेनजी प्रदर्शनका क्रममा बिर्तामोडको इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पूर्ण रुपले क्षति ग्रस्त भएको थियो ।
इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा ठूलो क्षति भएसँगै सुरक्षा चुनौती वढेपछि युवा व्यवसायीहरु बिपिन बजगाँई, पदम श्रेष्ठ र रमेश चौधरीलगायतको पहलमा अहिले पुनः निर्माण तथा मर्मतसम्भार भइरहेको छ ।
हाल प्लम्बीङ, बिद्युत, प्लष्टर, ट्रष्ट, आलमुनियम, रंगरोगन, झ्यालढोका, गेटलगायतको कार्य भइरहेको युनिक मेशिनरी ट्रेडर्सका सञ्चालकसमेत रहेको बिपिन बजगाँईले जानकारी दिए । बजगाँईका अनुसार शान्ति सुरक्षा अति आवश्यक भएकाले सयौं दताहरुले पुनःनिर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
हालसम्म अलस्काका सञ्चालक प्रकाश शिवाकोटीले नगद एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् भने अन्य धेरैले पनि सहयोग गर्ने आश्वसन दिएको उनले बताए । एकका लागि एक अभियानले पुनःनिर्माण र मर्मत सम्भारका लागि १० लाख दिने घोषणा गरेको छ । उक्त रकम मध्ये ६ लाख रुपैयाँ बिर्तामोड प्रहरी र ट्राफिक कार्यालयका लागि दिने बताइएको छ ।
सहयोग रकम संकलनका लागि बैंक ब्यवस्थापन कार्य भइरहेको बताउँदै बजगाँईले क्यूआर आउने वित्तिकै सहयोग रकम संकलन हुने बताएका छन् । गत असोज ४ गतेदेखि पुनःनिर्माण र मर्मतसम्भार भइरहेको बताइएको छ ।


















