बिर्तामोड । 

जेनजी युवा प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको बिर्तामोडको प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माणका लागि झापाली युवा समाज अस्ट्रेलियाले आर्थिक सहयोग गरेको छ । 

झापाली युवा समाज अस्ट्रेलियाले झापा बिर्तामोडको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भारका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । 

उनका अनुसार झापाली युवा समाज अस्ट्रेलियाले थप सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् । गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा बिर्तामोडको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनीका कारण प्रहरीहरु विस्तापित भएका थिए । 

आन्दोलनपछि प्रहरी कार्यालय क्षेत्रविक्षेत हुँदा प्रहरीहरु बिस्तापित भएका थिए । प्रहरीहरु विस्तापित भएपछि शान्ति सुरक्षामा चुनौती भएको भन्दै युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व बिपिन बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरी, देवेन्द्र केसीलगायतको अगुवाईमा हाल प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मतसम्भार भइरहेको छ ।