झापा । 

नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखलामा लगातार दुई जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ । २ दिनअघि अर्थात शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो ।

वेस्ट इन्डिजसँगको सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा गजबको प्रदर्शन गर्‍यो । विपक्षी खेलाडीलाई नै चकित पार्ने नेपालको फिल्डिङ जोशले मैदानभित्रदेखि संसारभर हेरिरहेका समर्थकहरूमाझ तरंग पैदा गरेको थियो ।कप्तान रोहित पौडेलले सिरिजअघि बोलेको कुरा प्रमाणित गरेर देखाएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खेलपछि कप्तान रोहितले शृंखला जित्न पाउँदा धेरै खुसी लागेको बताए । शृंखलाको दुई खेल मात्र सकिँदा वेस्ट इन्डिजको टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।