बिर्तामोड ।
जेनजी आन्दोलनपछि विस्थापित प्रहरीलाई भोलि स्वागत गरिने भएको छ । जेनजी प्रदर्शनका क्रममा गत भदौं २३ र २४ गते इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालयमा तोडफोड र आगजनी गरेपछि प्रहरीहरु विस्थापित भएका थिए ।
प्रहरी विस्थापितसँगै शान्ति सुरक्षामा चुनौती वढ्दै गएपछि प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण अभियान चलाइएको थियो । उक्त अभिायनले प्रहरी र ट्राफिकका लागि आवश्यक भवन पुनःनिर्माण र मर्मत सम्भार गरिरहेको छ । भवनको पुनःनिर्माण कार्य ८० प्रतिशत भन्दा धेरै भएको र भोलि अर्थात बुधवार प्रहरीहरुलाई कार्यालयमा स्वागत गरिने कार्यक्रम राखिएको युनिक मेशिनरी ट्रेडर्सका सञ्चालक, युवा व्यवसायी, पुनःनिर्माणका अगुवा तथा बिर्तामोड उद्योग बाणिज्य संघका सदस्यसमेत रहेका बिपिन बजगाँईले बताए ।
भोलि विभिन्न संघ–संस्थाहरूको उपस्थितिमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको जेनजी आन्दोलनवाट क्षतिग्रस्त संरचना पुनर्निर्माणपछि स्वागतसहित सद्भाव र्याली गराएर कार्यालय प्रवेश गराउने कार्यक्रम तय भएको उनले जानकारी दिए ।
बजगाँईले भोलि बडादशैको नवमीका दिन बिहान ७ः३० बजे प्रहरीलाई कार्यालय प्रवेश गराउने कार्यक्रम रहेकाले संयोजकहरू, बिर्तामोडबासी, बिभिन्न संघसंस्थाहरु, पत्रकारहरुसहित सवैलाई बिर्तामोडस्थित हनुमान कम्प्लेस अगाडी उपस्थित भइदिन आग्रह गरेका छन् ।


















