झापा ।
हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ। आज (बुधवार) दिउँसो र राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।


















