झापा ।

झापाको मेचीनगर नगरपालिकास्थित बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै जंगली हात्ती खेदाउँन गोस्ती परिचालन गरिएको छ । भारतीय सीमावर्ती जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ । किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने उनले जानकारी दिएका छन् । विगतका वर्षमा भारतबाट आउने हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए ।

विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन् भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको छ ।