हल्दीबारी । 

‘रगतदान, महान कार्य’ भन्ने भावनासहित हल्दीबारी गाउँपालिका–३ ढडुवामा ढडुवा युवा क्लब परिवारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक सहयोग, एकता र मानवता प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम स्थानीय समुदायको सहभागितामा सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन वडा नं.३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीको प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रममा रेडक्रस जलथलका अध्यक्ष रेम खरेल, रेडक्रस हल्दिबारीका सचिव कृष्ण प्रसाई, रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक तामाङ, जेसिज हल्दिबारीकी अध्यक्ष युनिता दवाडी, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा आचार्य लगायतका अतिथिहरू उपस्थित थिए।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहयोग, वडा कार्यालयको समन्वय र विभिन्न संघ–संस्थाहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा ३ जना महिला र ३२ जना पुरुष गरी कुल ३५ जनाले रगतदान गरेका थिए। क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले रक्तदान अभियानलाई निरन्तरता दिँदै स्थानीय स्तरमा ‘रगत जीवन हो’ भन्ने सन्देश फैलाउने उद्देश्य रहेको बताए।

कार्यक्रम कुनै औपचारिक भाषण वा मन्तव्यबिना सम्पन्न गरिएको थियो। सहभागीहरूले यस कार्यक्रमले ढडुवा क्षेत्रमा सामूहिक भावना र सामाजिक चेतनाको नयाँ लहर ल्याएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार, युवाहरूको यस्तो सक्रियता समाज परिवर्तनतर्फको सकारात्मक संकेत हो। कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले गरेका थिए भने सञ्चालन र सहजीकरण क्लबका सचिव अभिषेक खतिवडाले गरेका थिए ।