धुलाबारी ।

हाम्रो स्वाभिमानी कृषि सहकारी संस्था लि. मेचीनगर–९ को १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगरको कविशिरोमणि माविको सभाहलमा आयोजित साधारण सभामा संस्थाले एकजना असल बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ ।

जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असल बचतकर्ता पदमबहादुर भट्टराई, असल ऋणी सरिता तिवारी र उत्कृष्ट कर्मचारी रंगप्रसाद भट्टराईलाई नगदसहित सम्मान गरिएको छ । तीनैजनालाई कार्यक्रममा प्रमुख अतिथि सापकोटाले सम्मान गरेका हुन् । 

सो अवसरमा प्रमुख अतिथि सापकोटाले सहकारी सबैको साझा चौतारी भएको बताए । उनले सबैको भावनालाई आत्मसाथ गरेर अघि बढ्न सुझाव दिए । ‘सहकारीले सबैको भावना समेटेको हुन्छ,’ उनले भने, ‘त्यही अनुसार सहकारी संस्थाहरु चलाउन सक्नुपर्छ ।’ 

सापकोटाले सहकारी संस्थाहरुले सामाजिक संस्कार सिकाउनु पर्ने धारणा राखे । उनले असल संस्कार सिकाउन सके मात्र समाजमा रहेका कु–संस्कार अन्त्य गर्न सहयोग पुग्ने उल्लेख गरे । उनले सहकारी संस्था एकीकरण गरिँदा आफ्नो अस्तित्व नामेट हुनेसमेत तर्क राखे । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका प्रमुख प्रेमकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समितिका सदस्य ईश्वर घिमिरेले सञ्चालन तथा अर्का सदस्य दिवश भण्डारीले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाको बजेट व्यवस्थापक रंगप्रसाद भट्टराईले तथा आन्तरिक लेखा परीक्षण प्रतिवेदन संयोजक केदारनाथ भट्टराईले प्रस्तुत गरेका थिए ।

साधारण सभामा अध्यक्ष उप्रेतीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको बचत १ करोड ५७ लाख ८९ हजार ६९७ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कर्जा १ करोड ५७ लाख ६३ हजार ३७० रहेकोमा कोषमा २५ लाख २१ हजार ३१२ रुपैयाँ रहेको प्रतिवेदनमा छ ।

२०६९ सालदेखि बचत समूहबाट सहकारीमा रुपान्तरण भई विधिवत रुपमा स्वाभिमानी कृषि सहकारीको नामबाट २०७७ सालबाट सेवा प्रवाह गर्दै आएको छ । २०७७ साल कात्तिकमा स्थानीय सुम्निमा कृषि सहकारी संस्थासँग एकीकरण भएको थियो । यस सहकारी संस्थाले ग्रामीण क्षेत्रमा किसानको आफ्ना संस्थाको रुपमा सदस्यहरुलाई सेवा दिँदै आएको छ । हाल सहकारी संस्थाको शेयर सदस्यमा ३४६ पुरुष, महिला ३३७ र संस्थागत २५ गरी ७०८ रहेका छन् I