झापा ।
झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट १० जना लागूऔषधसहित पक्राउ परेका छन् । सुनसरीको धरान–२० बाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ ज २१७८ नम्बरको पिकअप गाडीको डालामा ५ वटा कालो झोलामा प्याकिङ गरेर लुकाई छिपाई राखेको ५० किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै चालक धनकुटा सागुरिगढी–९ का खड्गबहादुर मगराती र सह–चालक दुर्गा विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजासहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानहरुबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले भारत बिहारका राजुकुमार सोनीलाई लागू औषध INTRAZEPAM ट्याब्लेट-१४०, Tramadol-८ ट्याब्लेटसहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट विजयपुरले धरान–१५ का सनम लिम्बुलाई ट्रामाडोल-३०० क्याप्सुल र स्पास्पेन(२४० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले मोरङको रतुवामाई नगरपालिका(९ का भिमदेव श्रेष्ठलाई २०६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरीएको छ । मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर–१७ मा चेकजाँचको क्रममा विराटनगर–१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सप्तरीको बोधेबर्साइनका दुर्गानन्द यादबलाई ४७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी–५ का सन्तोष राईलाई ६७ मिलिग्राम ब्राउन सुगरसहित र झापाको वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–४ का दिलिप कुमार माझी र उनको श्रीमती रोमा राणालाई ४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















