बिर्तामोड ।
झापा गोल्डकपको सातौं संस्करणको मिति नजिकिँदै गर्दा आयोजक संस्थामा नयाँ सदस्यता लिनेहरूको संख्या बढ्दै गएको छ। बुधबार एकै दिन झापा गोल्ड कपमा कार्यसमिति सदस्य शैलेन्द्र कुरुम्बाङको पहलमा २३ जनाले एकैसाथ नयाँ सदस्यता लिएका छन्।
गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच नयाँ सदस्यहरुलाई कार्यवाहक अध्यक्ष गजेन्द्रबहादुर पौडेलले सदस्यता रसिद प्रदान गरेका थिए ।
प्रतिष्ठित गोल्डकपका रुपमा प्रसिद्धि कमाएको यसको सातौं संस्करण माघ २४ देखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुँदैछ ।
स्वर्गीय बिनोद बस्नेत स्मृति झापा गोल्डकपमा यसपटक नेपाल भारत र भुटानका क्लबहरूको प्रतिस्पर्धा रहने बताइएको छ। सातौँ संस्करणको तयारीसँगै अहिलेसम्म ६५ भन्दा बढी नयाँ सदस्य थपिएका छन्।
सदस्यको रूपमा खेलप्रेमीहरूको यो आगमनले आयोजक परिवार उत्साहित रहेको अध्यक्ष केदार गिरीले बताए। झापा गोल्ड कपको सचिवालयका अनुसार नयाँ सदस्यता आउने क्रमसँगै पुराना सदस्यहरूको नवीकरण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ।


















