बिर्तामोड। 

सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताए ।

गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको संख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा देखाएका छन् ।

दीर्घकालीन रुपमा गोल्डकपलाई अघि बढाउन नयाँ सदस्यता थप गरिएको हो । सदस्यलाई प्रतियोगितामा विशेष सुविधा दिने तयारी गरिएको गोल्डकपका कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए ।

१५ लाख रुपैयाँ पुरस्कार राशिको यो प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । उपविजेताले नगद आठ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा नेपालका तीन विभागीय, झापा ११, भारत, भुटान र मलेसियाका एकएक टिम र तीनवटा नेपाल ए डिभिजन क्लबको सहभागिता रहने अध्यक्ष गिरीले बताए ।