बिर्तामोड ।
बचत तथा ऋण सहकारी संघ झापाको नवनिर्वाचित कार्य समिति र लेखा सुपरिवेक्षण समितिलाई पद हस्तान्तरण गरिएको छ । संघको चौथो अधिवेशनबाट आगामी ४ बर्षे कार्यकालका लागि युवराज गिरीको नेतृत्वमा निर्वाचित कार्यसमिति र लेखा सुपरिवेक्षण समितिलाई आज (सोमवार) बिर्तामोडमा सपथग्रहणसँगै पद हस्तान्तरण गरिएको हो ।
संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा नेफस्कोनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले नवनिर्वाचित अध्यक्ष गिरीसहित पदाधिकारी, सदस्य तथा लेखा सुपरिवेक्षण समितिलाई सपथ ग्रहण गराएका थिए ।
स्वागत संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गरेको कार्यक्रममा प्रमुख अतिथि नेफस्कोनका महासचिव घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार सापकोटा, बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो सत्रको कार्यक्रम नव निर्वाचित अध्यक्ष युवराज गिरीको अध्यक्षतामा भएको थियो ।
पदभार ग्रहणसँगै अध्यक्ष गिरीले हाल सहकारीको अवस्था जर्जर बनेको बताउँदै वर्तमान अवस्थामा देखिएका सहकारीका समस्या समाधान गर्ने प्रतिवद्धतासमेत ब्यक्त गरेका छन् । उनले बोल्ने भन्दापनि काम गर्ने बेला आएकोले संघको नयाँ कार्यसमितिले सहकारीकर्मी र कर्मचारीको हितमा काम गरेर देखाउने बताए ।
कर्यक्रमको सञ्चालन संघकी ब्यवस्थापक कोपिला बजगाँई र सचिव बिनोद ढकालले संयुक्त रुपमा गरेका थिए । संघको अध्यक्षमा निर्वाचन भएको थियो भने अन्य पदहरु सर्वसम्मत निर्वाचित भएका थिए ।
संघको उपाध्यक्ष यामकुमार चुडाल, महिला उपाध्यक्ष सुशिला रिजाल, सचिव बिनोद ढकाल, सदस्यमा हिमालय प्रकाश लिम्बु कन्दङ्वा, महेश घिमिरे, मित्रलाल खनाल, उमाकान्त आचार्य र संगीता कोइराला सर्वसम्मत निर्वाचित भएका थिए । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा जगनाथ भट्टराई, सदस्यमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल पनि सर्वसम्मत निर्वाचित भएका थिए ।


















