अर्जुनधारा । 

बुद्धशान्ति–१ शहीद भूमिबाट चुनावी अभियानमा जुटेकी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेद्वार धर्मशीला चापागाईं विशेष गरी शहीद परिवार, असक्त र असहायको घरआँगनमा पुग्दै आएकी छिन् ।

झापा क्षेत्र नं. २ चुनाव प्रचार अभियान अन्तर्गत उम्मेद्वार चापागाईंसँग निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार राना, पवन तिम्सिना, देवकला प्रसाई, देवकुमारी चौधरी लगायत घरदैलो गर्दै हिडेका छन् ।

फाल्गुन ४ गतेबाट व्यापकता दिनका लागि चापागाईं लगायत उनका समर्थक निर्वाचन क्षेत्र अन्तर्गत वडा कार्यालय पनि स्थापना गर्दै हिडेको निर्वाचन परिचालन समितिका हरिकुमार रानाले बताए । रानाका अनुसार यस क्षेत्रका कुना कन्धरामा थुप्रै समर्थकहरु रहेको बताए । संगठन नभएको ठाउँमा पनि उम्मेद्वार पुग्दा उत्साहजनक उपस्थित भएको पनि देखियो ।

चापागाईंले वडा कार्यालय पुग्दा हिजोको मुद्दा र आजको मुद्दा फरक भएको हुँदा समाजवादबाट देशलाई परिवर्तनसँगै हरेक कार्यमा जनतासँग जोडिनका लागि आफू आएको बताइन् ।

उनी सम्पर्कमा जाँदै गर्दा पुराना माओवादीहरुले फूलका माला लगाइदिएको पाइन्थ्यो भने धेरैले सत्तामा पुगेपछि आफूहरुलाई नहरेको गुनासो पनि राखेका थिए । उम्मेद्वार चापागाईंले अर्जुनधारा वडा नम्बर २, ३ र ७ का केही स्थानहरुमा जाँदा जनता उत्साहित भएको उनीसँगै अभियानमा रहेकी देवकला प्रसाईले प्रतिक्रिया दिइन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ४७ हजार मतदाता भए पनि कसको मत कहाँ जाने यकिन छैन । तर, नेकपाकी उम्मेद्वार चापागाईंले भने आफ्नो निर्वाचन क्षेत्रभरी पुग्दै गरेको निर्वाचन परिचालन समितिका सदस्य पवन तिम्सिनाले जानकारी दिए । उनका अनुसार निकै रणनीति अख्तियार गरेर हिड्नु पर्नेछ ।