बिर्तामोड ।
नेपाली कम्युनिष्ट पार्टीबाट झापा क्षेत्र नम्बर २ को उम्मेदवार बनेकी धर्मशिला चापागाईंले घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार बनेकी चापागाईंले घरदैलो कार्यक्रम अन्तरगत बुधवार बुद्धशान्ति गाउँपालिकाका विभिन्न बस्ती तथा टोलहरूमा पुगेर व्यापक जनभेटघाट गरेकी छिन् ।
कार्यक्रमका क्रममा उनले जनताको घरदैलोमै पुगेर आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा आफूलाई अत्याधिक मतका साथ विजयी गराउन आग्रह गरेकी थिइन् । उनले विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्व आफ्नो प्रमुख प्रतिबद्धता रहेको उल्लेख गर्दै क्षेत्र नम्बर २ को समग्र समृद्धिका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरिन् ।
घरदैलो अभियानका क्रममा स्थानीय नागरिकहरूबाट देखिएको उत्साहजनक सहभागिता र समर्थनले निर्वाचन माहोल थप तातिएको छ। उम्मेदवारले जनताका दैनिक जीवनसँग गाँसिएका समस्या, आवश्यकताहरू तथा सुझावहरू ध्यानपूर्वक सुन्दै समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।
‘जनताको विश्वास नै मेरो शक्ति हो’ भन्दै उनले सामाजिक न्याय, रोजगारी सृजना, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याइन् । घरदैलो अभियानसँगै क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै गएको छ भने उम्मेदवारप्रति जनलहर उत्साहजनक रूपमा बढिरहेको देखिएको छ।


















