बिर्तामोड। 

झापा क्षेत्र नं २ बाट  स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर युवराज संग्रौलाले घरदैलोको क्रममा झापाली मतदाता र झापाली समाजको बास्तविकता बुझ्ने मौका पाएकाले आफूले चुनाव जित्ने दाबी गरेका छन्। 

देशभक्त स्वतन्त्र नागरिक समाजले शनिवार साँझ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।

 उनले नेपालमै प्रयाप्त पूँजी भएपनि पुराना राजनीतिक दलले विदेशी सहायता लिएर देशलाई धरासायी बनाएको बताउँदै उनले  देशमा औधोगिकरण गर्न नयाँ उद्योगीलाई प्रोत्साहन गर्ने औधौगिक प्राधिकरण ऐन संसदमा ल्याएर उद्योगी व्यवसायीलाई राहतका कार्यक्रम ल्याउने दावी गरे। झापा २ मा उद्योग गाउँ बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ। 

आफूले झापा क्षेत्र नं २ मा स्कूल खोलेर आदिवासी, जनजाति, विपन्न विद्यार्थीलाई निःशुल्क आवासिय रूपमा अध्यापन गराउने प्रतिवद्धता जनाए। आफू अभियन्ता भएकाले आफूलाई  पद नचाहिने बताउँदै जनताको सेवक बन्ने जनाए। 

आफू नेता भएर चुनाव लड्न नआएको बताउँदै उनले नागरिक सर्बोच्चताको मुद्दा उठाएर बौद्धिकहरूलाई राजनीतिमा आउन प्रेरणा दिन निर्वाचनमा उम्मेदवारी दिएको बताउँदै आफ्नो हार सम्पूर्ण वौद्धिकहरूको हार हुने बताएका छन् । उनले आफुले निर्वाचनमा जितेपछि माननीय भन्ने शब्द प्रयोग गर्न नदिने बताएका छन् ।