झापा ।
फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनमा राष्ट्रिय अग्रगामी गठबन्धनको साझा चुनाव चिन्ह जाँतोमा समानुपातिक तर्फबाट युवा नेता एलबी पालुङ्वाले उम्मेद्वारी दिएका छन् ।
उनले गठबन्धनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त राजनैतिक उपलब्धिलाई बचाउँदै पहिचान, स्वायत्तता र स्वशासनको अधिकारलाई स्थापित गर्न चुनावलाई आन्दोलनकै स्वरुपमा लिएको बताउँदै आफुलाई निर्वाचन गराउन आग्रह गरेका छन् ।
युवा नेता पालुङ्वाले पहिचान पक्षधर राजनैतिक पार्टीहरूको विचार, एजेण्डा र आन्दोलनलाई जाँतो चुनाव चिन्हले मात्र आम निर्वाचनमा नेतृत्वदायी भूमिकामा राख्ने बताउँदै भोट दिन अपिल गरेका छन् ।
उनले भनेका छन् ‘हामी १ नम्बर प्रदेशको नाम कोशी मान्दैनौ साथै यस प्रकारको प्रदेश संघीयताको सिद्धान्त, भावना र मर्म बमोजिम भएको बिल्कुल होइन। यो किनभने प्रदेशको नाम कोशीले यस भूभागमा बस्ने जाति, भाषा, संस्कृति, इतिहास र भूगोललाई सम्बोधन गरेन। त्यसैले गर्दा, कोशी औपनिवेशिक नाम हो। षड्यन्त्रपूर्वक प्रदेशको नाम कोशी थोपरे पछि यस प्रदेशमा सदियौं देखि बसोवास गरिरहेका समुदायहरूको स्वाभिमानमा ठूलो चोट पुग्न गयो। माङगेन्ना ढलेको छ। त्यसकारण, प्रदेशको नाम कोशी विस्थापित गरेर पहिचानको आधारमा नाम स्थापित गरिनु पर्दछ।
त्यसैगरी संघियताको भावना र मर्मलाई टेकेर संविधान सभाको राज्यपुनर्संरचना तथा शक्ति बाँडफाँड समिति र उच्च स्तरीय राज्यपुनर्संरचना आयोगको सिफारिसको आधारमा १ नम्बर प्रदेशको पुनर्संरचना हुन जरुर छ। अनिमात्र यस भूभागमा बसोबास गर्ने जाति, भाषा, संस्कृति, इतिहास र भूगोलको यथेष्ट विकास सम्मान हुने हाम्रो ठहर छ।
अहिलेको अवस्थामा पहाडका ६ जिल्लाहरूको सांसद संख्याको प्रतिनिधित्व मोरङ एउटै जिल्लाबाट भइरहेको छ। यसबाट के स्पष्ट हुन्छ भने पहाड र हिमालका जिल्लाहरू राजनैतिक अधिकारको हिसाबले ज्यादै विभेदमा पारिएका छन्। देशको ८५ प्रतिशत भूभागलाई मारुभुमिकरण गरिंदै छ र आम बसाइँ सराईलाई प्रसय दिने काम भएको छ। यो कुरा तुरुन्त रोकिनु पर्दछ। त्यसैले गर्दा, प्रदेशको राजधानी पहाडमा हुनु पर्दछ।
लिम्बुवान प्रदेशकोको राजधानी पाँचथर फेदेनमा हुनुपर्छ। अनिमात्र लिम्बू समुदायले आफनो स्वायत्तता र स्वशासनको अधिकारलाई उपभोग गर्न पाउँदछन्। समुदायको भाषिक र सांस्कृतिक बिकास हुन्छ। तबमात्र मानिसहरूको बसाइँ सराई तराईबाट पहाड तिर हुन्छ किनभने सेवा, सुविधा र अवसरहरु राजधानी केन्द्रीत हुन्छन्। यो कुरा देशका सबै प्रदेशहरुमा लागू हुनुपर्दछ।
हाम्रो गठबन्धनले ताप्लेजुङको मूकुम्लुङ (पाथीभरा) मा केबुलकार सञ्चालन गरिनुपर्छ भन्ने बारे कुनै त्यस्तो कारण, आवश्कता तथा औचित्यता नरहेको र नभएको ठहर गर्दछ। यो कुरा विगतमा त्यस क्षेत्रमा विभिन्न चरणमा भएका आन्दोलन तथा प्रदर्शनीले जावाफादी सकेको छ।
अहिले नेपालमा भइरहेको बिकास मोडेललाई बिकास नभई विनास ठान्छौ। बिकाश भनेको बहुआयामिक हुन्छ। त्यसकारण, हामी दीगो विकास मोडलमा जोड गर्दछौं।
हामी स्वादेशबादी हौ। त्यसकारण, विदेशी हस्तक्षेप, उपनिवेश, विचार, संस्कृति, उत्पादनलाई स्वीकार गर्नेवाला छैनौ। हामी हाम्रो मुन्धुम, सनातन धर्म–संस्कृति, सभ्यता, भूमि र प्रकृतिको बिचार र दर्शनलाई आत्मसात् गर्छौ। आत्मनिर्भर तथा स्वालम्वी अर्थतन्त्रको विकासमा जोड दिन्छौं। परम्परागत ज्ञान ( सीप, संस्कृति र प्रविधिमा आधारित उत्पादनलाई प्रोत्साहन गर्दछौं। त्यसबाट रोजगारीको सिर्जना व्यापक हुन्छ।गर्दछौं। यसबाट उत्पादन हुने वस्तुको बजार ग्यारेण्टीको लागि पहलकदमी लिन्छौं। विशेषतः ग्रामीण अर्थतन्त्रको बलमा देशलाई आर्थिक विकास तथा समृद्धि तिर डोर्याउने कोशिशमा छौं।
श्रम शारीरिक र मानसिक दुई प्रकारको हुन्छ। दुवै किसिमका श्रमलाई हामी सम्मान गर्छौँ। तर, श्रम उत्पादनको एउटा साधन मात्र हो। कुनै पनि वस्तु वा सेवाको उत्पादनमा श्रम संसँगै आधारभूत हिसाबले पूँजी, भूमि र संगठनको अनिवार्यता पर्दछ। उत्पादन मानवीय आवश्कता सँग जोडिएको हुन्छ। उत्पादन के गर्ने ? कति गर्नेरु कहाँ गर्ने ? किन गर्ने ? र यसको बजार र उपभोग सँग जोडिएको कुराहरूमा व्याक्ति केन्द्रीत नाफाखोर दलाल पुँजीवादी अर्थतन्त्रको विकल्पमा समुदायलाई केन्द्रमा राखेर उत्पादनका स्रोत साधनहरुलाई परिचालन र न्यायोचित सेवा, सुविधा र मुनाफा वितरण हुने सामुदायिक अर्थतन्त्रमा हामी जोड दिनेछौ।
अघिल्लो ०८९ सालको आम निर्वाचनमा निर्बाचन आयोगले संघीय लिम्बुवान पार्टी नेपाललाई यसै नामबाट दल दर्ता नदिएकोले माहुरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवरको रुपमा म उपस्थित थिएँ। त्यसबखत पाँचथर जिल्लाको प्रायः सबै पालिकाहरुको मुख्य ठाउँहरूमा पुगेको छु। आगामी फागुन–२१ गते हुने निर्वाचनमा राष्ट्रिय अग्रगामी गठबन्धनको साझा चुनाव चिन्ह जाँतो को समानुपातिक उम्मेदवारको हैसियतले अन्य जिल्लाहरुमा पनि पुग्नु पर्ने भएकोले सम्पूर्ण पाँचथर बासी याङवारक गाउँपालिका, हिलिहाङ गाउँपालिका, फालेलुङ गाउँपालिका, फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, कुम्यायक गाउँपालिका, तुम्बेवा गाउँपालिका र मिक्लाजोङ गाउँपालिका का मतदाताहरु माझ शरीर भौतिक रूपले उपस्थित हुन नसकेकोले साथै देशव्यापी सम्पूर्ण पहिचान पक्षधर मतदाता महानुभावहरुलाई अमूल्य मत जाँतो चुनाव चिन्हमा मतदान गरी देश र जनताको सेवा गर्ने मौका प्रदान गरिदिनुहोला आग्रह, अनुरोध, अपील गर्दै यहाँहरु समक्ष आर्शिवाद माग्दछु।

















