बिर्तामोड। 

झापा क्षेत्र नं २ का नेकपा एमालेका प्रत्यक्ष तर्फका उम्मेद्वार देवराज घिमिरेले अपूरा र अधुरा कार्य पूरा गर्न उम्मेदवारी दिएको बताउँदै आफ्नो जित निश्चित भएको बताएका छन् ।  प्रेस चौतारी नेपाल झापाले आज (सोमवार) बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उम्मेर्वा घिमिरेले आफूले झापा क्षेत्र नं २ मा यसअघि गरेका अपूरा र अधुरा कार्य पूरा गर्न आवश्यक रहेको बताएका हुन् । 

 उनले झापा क्षेत्र नं २ का जनताले यसअघि पनि आफूलाई प्रतिनिधी सभा सदस्यमा निर्वाचित गराएकाले यस पटक पनि बहुमतले बिजयी बनाउने विश्वास व्यक्त गरे। आफू जनताको  घरदैलोमा मत माग्न जाँदा झापा क्षेत्र नं २ का जनताले आफूलाई पुनः एकपटक प्रतिनिधी सभा सदस्यमा देख्न चाहेको बताएकाले आफूले चुनाव जितीसकेको उनको भनाई छ। 

आफू झापा क्षेत्र नं २ बाट यसअघि निर्वाचित भएर झापा क्षेत्र नं २ का जनताको सुख दुःखमा साथ दिंदै यस क्षेत्रमा विकासको बाढी ल्याएको र अझै पनि केही विकास योजना अपूरा र अधुरा रहेको उनले बताए । ‘नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय संकल्प पूरा गर्न आज स्पष्ट मार्गचित्र इच्छाशक्तिको खाँचो रहेको छ’ उम्मेद्वार घिमिरेले भने ‘जुन केवल एमालेसँग मात्र सुरक्षित छ’ ।

राजनीतिकलाई पुरानो र नयाँ  भनेर बर्गाीकरण गर्नु केवल कोटाकेटीपन भएको उनले बताए । एमाले नेतृत्वको सरकारले आफ्नो गाउँ आफै बनाऔं र जेष्ठ नागरिक भत्ता जस्ता सामाजिक सुरक्षाका जगदेखि बाटो, बत्ती, रेल र सुरुङमार्ग हुँदै देशलाई डिजिटल युगमा प्रवेश गराउनेसम्मका दीर्घकालिन महत्वका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको उम्मेद्वार घिमिरेले बताए । 

उनले २०५६ सालमा राष्ट्रिय सभा सदस्य पनि पूर्ण कार्यकाल काम गर्न नपाएको र र प्रतिनिधि सभा सदस्य तथा सभामुख हुँदा पनि पूर्ण काम गर्न नपाएको बताउँदै आफु सभामुख हुँदा ल्याएका विकास योजना पूरा गर्न र आगामी झापा क्षेत्र नं. २ मा थप विकास योजनाका लागि उम्मेद्वारी दिएको बताएका छन् । 

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण पत्रकार तीलक योन्जनले गरेका थिए ।