झापा । 

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले अग्रता बनाएका छन्। प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका बालेन शाहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् भने नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन्। यससँगै शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन्।

मतगणनाको हालसम्मको नतिजामा श्रम संस्कृति पार्टीका समीर तामाङ तेस्रो स्थानमा छन्। उनले १ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन्।

झापा–५ यस पटकको प्रतिनिधिसभा निर्वाचनमा निकै चासोको केन्द्र बनेको क्षेत्र हो, जहाँ एमाले अध्यक्ष ओली र रास्वपा नेता शाहबीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ। हाल मतगणना जारी रहेको र आगामी गणनासँगै परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।