बिर्तामोड ।
पूर्ण टुङ्ग आदर्श नागरिक सम्मानबाट दार्जिलिङका साहित्यकार दान खालिङ मरणोपरान्त सम्मानित हुने भएका छन् । भारतको दार्जिलिङ घर भएका खालिङलाई जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले सम्मान गर्ने भएको हो ।
बिर्तामोडमा रहेको पूर्ण टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले शनिबार एक समारोहका बिच खालिङलाई पूर्ण टुङ्ग नागरिक सम्मान २०८२ प्रदान गरिने भएको छ ।
भारतीय नागरिक खालिङले नेपालमा शिक्षा, साहित्य तथा राजनीतिक चेतना विस्तारका लागि गरेको योगदानको मुल्याङकन गर्दै मरणोपरान्त सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए ।
आदर्श नागरिक सम्मानसँगै १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष बस्नेतले बताए । यसअघि सो पुरस्कारबाट पहिलो पटक ख्यातिप्राप्त कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा दोस्रो पटक पञ्चायत बिरोधी आन्दोलनका योद्वा याम भण्डारी र दिव्य भुर्तेल पुरस्कृत भइसकेका छन् ।
प्रतिष्ठानको पुरस्कारसँँगै बिर्तामोडका अरु शैक्षिक प्रतिष्ठानले पनि नगद पुरस्कार प्रदान गर्ने तयारी रहेको छ । बस्नेतका अनुसार २ लाख ५० हजार भन्दा बढि रकम खालिङको स्मृतिमा समर्पण गर्ने तयारी भइसकेको छ ।
नेपालमा शिक्षा, साहित्य तथा राजनीतिक चेतना विस्तारका लागि अहोरात्र सक्रिय खालिङलाई सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य बनाएको थियो । उनको २०७३ भदौ २१ गते ८९ बर्षको उमेरमा भारतको सिलिगुडीमा निधन भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष बस्नेतको अध्यक्षतामा बिहीवार भएको पत्रकारसँग साक्षत्कार कार्यक्रममा स्वागत सचिव लक्षण ढकालले गरेका थिए । कार्यक्रममा प्रतिष्टानका उपाध्क्ष राजकुमार पोखरेलले खालिङले शिक्षा, साहित्य क्षेत्रमा पुर्याएको योगदानका बिषयमा जानकारी दिएका थिए भने कार्यक्रमको सहजीकरण प्रतिष्ठानकी सचिव स्वस्तिका आचार्य गरेकी थिइन् ।


















