झापा । 

खाडीका देशहरूमा इरानी हमलाका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा एक जना नेपालीसहित ४५ जना विदेशी पक्राउ परेका छन् । युएई, कतार, कुवेत, बाहराइन, साउदी अरेबियाका विभिन्न क्षेत्र इरानको ड्रोन तथा क्षेप्यास्त्रको निसानामा परिरहेका छन् । मानिसहरूमा चिन्ता पैदा हुने किसिमका भ्रामक सूचना फैलाएको आरोप उनीहरूमाथि लगाइएको छ ।

युएई अधिकारीहरूले पुष्टि नभएका तथा आधिकारिक स्रोतबाट प्रेषित नगरिएका सूचना तथा सामग्री प्रकाशन नगर्न चेतावनी दिँदै आएका छन् । यसैबीच कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुअघि आवश्यक भिसा प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

नेपाली दूतावासले साउदी अरेबियाको विमानस्थल प्रयोग गरी नेपाल जान चाहने कतारमा वैध आवासीय अनुमति (कतार आइडी) भएका नेपाली नागरिकहरूले अनिवार्य रूपमा साउदी पर्यटक भिसा आवेदन दिनुपर्ने जनाएको छ । साउदी पर्यटक भिसा आवेदन दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत दिन सकिने र सो सेवा केन्द्र अल घराफास्थित एजदान मल राय्यानमा रहेको बताइएको छ ।