झापा ।
मध्यपूर्वमा बढ्दो तनावका कारण माघ महिनाको तुलनामा फागुनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या एक चौथाइ भन्दा बढीले कमी आएको छ । माघ महिनामा वैदेशिक रोजगार विभागबाट पुनः श्रम स्वीकृतिसहित ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति लिएका थिए भने फागुनमा उक्त संख्या ५२ हजार ९ सय ४४ रहेको छ । प्रतिशतका हिसाबले यो संख्या माघ महिनाको तुलनामा करिब २६ प्रतिशतले कम हो ।
सरकारले इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडीका मुलुक, इजरायल र टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको छ । माघ महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ८ सय ७ जनाको श्रम स्वीकृति भएकोमा फागुनमा २० हजार १ सय ३० जनाको मात्रै श्रम स्वीकृति भएको छ । फागुन महिनामा २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनेको संख्या २८ हजार ३ सय ८३ जना रहेको छ भने त्यसमा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ८ हजार २ सय ५३ रहेको छ ।
फागुनमा मलेसियामा सबैभन्दा बढी १२ हजार ६ सय १ जना, युएईमा ११ हजार ४ सय ९२ जना, कतारमा ६ हजार ७ सय ७५ जना र साउदी अरेबियामा ६ हजार २ सय २५ जनाको श्रम स्वीकृति भएको छ । तीमध्ये कतिपय गएका छैनन् । इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु भएको सोमबार १७ दिन पुग्दा इरानले अमेरिकी सैनिक बेस क्याम्प रहेका खाडी मुलुकमा मिसाइल तथा ड्रोन आक्रमण जारी राखेको छ । त्यसबाट ठुलो संख्यामा नेपाली कार्यरत कतार, युएई, साउदी, बहराइन, ओमानलगायतका देशमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ ।
सरकारले गत फागुन १७ गते श्रममन्त्रीस्तरीय निर्णयबाट अर्को सूचना जारी नभएसम्मका लागि साउदी, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ ।


















