झापा ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताएका छन् । 

आज (बिहीवार) बिहान सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएसँगै कांग्रेसमा अब के हुन्छ भन्ने अन्योल थपिएको बेला उपसभापति शर्माले राजीनामा अस्वीकृत हुने स्पष्ट संकेत गरेका हुन् ।  उनले यतिबेला सभापतिको राजीनामा होइन, प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको स्पष्ट पारे ।  

उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्याय संगत नहुने लाक्षणिक तर्क गरेका छन् ।  शर्माले पार्टीमा असन्तोषको आगो सल्किएको बेला थापा पार्टी सभापति बनेर आगो निभाउन अघि सरेको रुपमा अर्थ्याए । 

 सामाजिक सञ्जाल एक्समा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै  उपसभापति शर्माले  भने ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक हो तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो, बैठकमा प्रारम्भिक समीक्षा, राजीनामापत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुन्छ ।’ उनले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्याय संगत नहुनेमा जोड दिए।