काठमाडौँ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।आज बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो । दुवै जनालाई परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ओलीलाई प्रहरीले गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको हो ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङले रातभर आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्नेबारे छलफल गरेका थिए । छलफलपछि आज बिहान दुवैजना पक्राउ परेका हुन् । यसैबीच गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उनले यसबारे प्रतिक्रिया दिएका हुन्। वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’
उनले अब देशले नयाँ दिशा लिने समेत विश्वास व्यक्त गरेका छन्। गुरुङले लेखेका छन्, ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’ गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।
यता पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा नेकपा एमाले प्रदर्शनमा उत्रिने भएको छ । सचिव महेश बस्नेतका अनुसार एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्न लागिएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ बस्नेतले लेखेका छन्, ‘कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ ।’
पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ । ‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,’ सचिव बस्नेतले लेखेका छन् ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा निरिह देखिएको नेपाल प्रहरीप्रति पनि टिप्पणी गरेका छन् । ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुस्ख लाग्छ,’ उनले लेखेका छन् ।
















