बिर्तामोड ।

नारी संसार गृह झापा र पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा क्यान्सर सम्बन्धी सचेतना तथा पाठेघरको मुखको निशुल्क क्यान्सर परीक्षण गरिएको छ । उक्त कार्यक्रममा क्यान्सर रोगको समयमै पहिचान र उपचारको महत्वबारे जोड दिइएको थियो ।

महिला पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा ३० जनाको निःशुल्क स्क्रिनिङ गरिएको छ । यसै हप्ताभित्र अन्य पत्रकारहरुको समेत निःशुल्क स्क्रिनिङ गरिने जनाइएको छ । अस्पतालले स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

कार्यक्रममा प्रमुख अतीथी बिएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालकी डाइरेक्टर डा। अन्जली कार्की प्रसाईले महिला पत्रकारहरुको स्वास्थ्य जाँचमा अस्पतालको तर्फबाट सहयोग गर्न पाएकोमा आभार प्रकट गरेकी छन् । उनले झापाली पत्रकारहरुसँग सधैंव सहकार्य गर्न तयार रहेको बताइन् । समुदायमा निरन्तर योगदान गर्दै जाने बताउँदै उनले नारी सञ्चार गृहसँग मिलेर महत्वपूर्ण काम गर्न पाएको बताइन् ।

पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वास्थ्यमा समयमै ध्यान दिए क्यान्सर जस्तो रोग पनि निको हुने धारणा राखेकी थिइन् । यस्तै, जनसम्पर्क अधिकारी प्रमिस गिरीले नारी संसार गृह मार्फत उपचार सेवामा विशेष छुटका लागि तत्कालै सम्झौता गरेर अघि बढ्ने जानकारी दिए । उनले नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा डा। ज्योति भाजु लामाले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरका लक्षण, जोखिम र आवश्यक सावधानीका विषयमा जानकारी दिएकी थिइन् । त्यस्तै, प्रशिक्षक प्रतिमा कार्कीले स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान कसरी गर्ने भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेकी थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरूले क्यान्सरसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गर्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षण सेवाबाट लाभ लिएका थिए । आयोजक संस्थकी अध्यक्ष स्वस्तिका आचार्यले यस्ता कार्यक्रमले महिलाहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् । उनले अस्पतालले पत्रकारहरुको स्वास्थ्य जाँचमा सहयोग गरेकामा धन्यवाद व्यक्त दिइन् ।