झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासचिव महेशकुमार बस्नेतलाई जिम्मेवारीबाट निलम्बन गर्दै तीन दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण पेस गर्न पत्र काटेको छ । संघका अध्यक्ष भुवनसिंह गुरुङले बिहीबार स्पष्टीकरण पत्र पठाउँदै विवादको विषयमा अन्तिम निर्णय नभएसम्मका लागि कर्मचारीहरूबाट बलजफती लिएका माइन्युटलगायतका कागजात २४ घण्टाभित्र संघमा बुझाउन बस्नेतलाई आग्रह गरेका छन् ।

संघले बस्नेतमाथि परिवर्तित सन्दर्भमा सुरक्षित, मर्यादित, व्यावसायिक र पारदर्शी वैदेशिक रोजगार व्यवसायको पहल भइरहेको तथा समग्र व्यवसायीहरूको हितमा अध्यक्षको नेतृत्वमा आवश्यक पहलकदमी भइरहेको अवस्थामा अध्यक्षले गरेका कामकारबाहीमा प्रत्यक्ष र परोक्ष रूपमा अवरोध सिर्जना गर्ने, गुटबन्दी गरी संघका समग्र क्रियाकलापमा असहयोग गरेको आरोप लगाएको छ ।

त्यसैगरी, संघमा मनपरी निर्णय गर्ने, वैदेशिक रोजगार व्यवसायीको हवाला दिएर अवाञ्छित गतिविधि गर्ने, केही पूर्वव्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूसँग साँठगाँठ गरी भेला गर्ने आरोप पनि लगाइएको छ ।

विधानविपरीत निर्णय गरी उल्टै अध्यक्षबारे अफवाह फैलाएर समग्र वैदेशिक रोजगार व्यवसायीहरूको मानमर्दन गरेको, अध्यक्षले गरेको काममा असन्तुष्टि भए लिखित असहमति जनाउने व्यवस्था हुँदाहुँदै कपोलकल्पित र निराधार आरोप लगाई लेटरहेडको दुरुपयोग गरेको आरोप पनि बस्नेतमाथि लगाइएको छ ।

संघले आचारसंहिता विपरीतका कार्य गरेको भन्दै ३ दिने स्पष्टीकरण सोधिएको र विषयको अन्तिम टुंगो नलागेसम्म संघको नाममा कामकारबाही गर्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ । संघले स्पष्टीकरण चित्त नबुझे प्रचलित विधानबमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताएको छ । संघले कार्यसमिति बैठकको निर्णयबमोजिम पत्र पठाएको जनाएको छ ।

३ दिनअघि महासचिव बस्नेतले अध्यक्ष गुरुङलाई कार्यसमितिसमक्ष स्पष्टीकरण पेस गर्न भन्दै संघको लेटरप्याडमा पत्र काटेका थिए । त्यसपछि संघभित्रको विवाद सतहमा आएको हो ।

बस्नेतले संघको वैशाख ८ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार अध्यक्षलाई स्पष्टीकरण माग गरिएको बताएका थिए । उनले व्यवसायीका समस्या एकातिर र अध्यक्षको रवैया अर्कोतिर हुने दुर्भाग्यपूर्ण अवस्था उत्पन्न भएपछि स्पष्टीकरण सोधिएको उल्लेख गरेका थिए ।