कतार ।  

बैसाख ११, २०८३ (२४ अप्रिल २०२६) का दिन  अन्तर्राष्ट्रिय झापाली समाज र झापाली समाज कतारबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जहाँ झापा जिल्लासँग सम्बन्धित विविध समसामयिक विषयमा अनौपचारिक विचार आदान–प्रदान गरिएको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लगाईको नेतृत्वमा उपाध्यक्षद्वय नबिन पोख्रेल र चुडामणि कार्की, सचिव भवानी कोइराला, मध्यपूर्व संयोजक केशब कार्की तथा सदस्य अर्पण खड्का सहभागी थिए। त्यसैगरी झापाली समाज कतारका कार्यबाहक अध्यक्ष गणेश दुलाल, महासचिव बिमल भारती, संरक्षक राजन कार्की लगायत कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यसै क्रममा झापा जिल्लाअन्तर्गत सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरू—बाहुनडाँगी सेवा समाज, कोच प्रवास समिति तथा सन्थाल समाजका अध्यक्ष एवं पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा झापाली समाज कतारद्वारा प्रकाशित नयाँ वर्ष २०८३ को भित्तेपात्रो अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लगाईबाट अनावरण गरिएको थियो। अन्तरक्रियाका क्रममा उपाध्यक्ष चुडामणि कार्कीले संस्थाको स्थापना आवश्यकताको बारेमा प्रकाश पार्दै यसको दीर्घकालीन महत्वबारे धारणा राखेका थिए ।  त्यसैगरी उपाध्यक्ष नबिन पोख्रेलले अन्तर्राष्ट्रिय झापाली समाजका भावी योजना तथा छलफलमा रहेका सम्भावित कार्यक्रमहरूको जानकारी दिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष महेन्द्र चम्लगाईले अनौपचारिक छलफलहरू अत्यन्त उपयोगी र सान्दर्भिक भएको उल्लेख गर्दै झापाली समाज कतारलाई छिट्टै औपचारिक बैठक बसी अन्तर्राष्ट्रिय झापाली समाजलाई औपचारिक पत्राचार गर्न आग्रह गरे । उनले आगामी दिनमा विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरूसँग समन्वय गर्दै बृहत्तर झापाली समुदायको निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय झापाली समाजका सचिव भवानी कोइरालाले गरेका थिए। अन्त्यमा अध्यक्ष चम्लगाईले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै दिवाभोजमा सहभागी हुन आमन्त्रण गरेका थिए ।