झापा ।
मलेसियामा विदेशी कामदार भर्ना प्रक्रियामा केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) वा युनिभर्सल रिक्रुटमेन्ट एडभान्स्ड प्लेटफर्म (तुराप) प्रयोग गर्ने विषयमा छलफल तीव्र बनेको छ । मलेसियामा बेस्टिनेटले सञ्चालन गरिरहेको केन्द्रीकृत व्यवस्थापन प्रणालीलाई सरकारले एक दशकअघि नै अनुमोदन गरेको हो । युनिभर्सल रिक्रुटमेन्ट एडभान्स्ड प्लेटफर्मले बेस्टिनेटको आलोचना गरेपछि बेस्टिनेटले ‘भ्रामक कथाहरू’को पछि लाग्न नहुने भन्दै आफ्नो प्रणाली अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्लेटफर्म भएको दाबी गरेको छ ।
बेस्टिनेटले एफडब्लुसिएमएस कार्यान्वयन गर्नुअघि मलेसियाको विदेशी कामदार व्यवस्थापन प्रक्रिया म्यानुअल अर्थात् ढड्डा प्रणालीमा आधारित थियो । एफडब्लुसिएमएसले आप्रवासी कामदारका नक्कली मेडिकल रिपोर्ट, बिमा कागजात, कोटा हेरफेर र ऋण बन्धनजस्ता व्यापक समस्याहरूलाई सम्बोधन गरेको दाबी गरिएको छ ।
एफडब्लुसिएमएसले १५ वटा मोड्युलमार्फत मलेसियाका श्रमिक स्रोत मुलुकसहित २३२ भन्दा बढी मान्यता प्राप्त चिकित्सा केन्द्रहरू र विभिन्न मलेसियाली सरकारी एजेन्सीहरूलाई एकल डिजिटल इकोसिस्टममा एकीकृत गरेको जनाउँदै विकल्प खोज्न नहुने जिकिर गरेको छ । प्रस्तावित अर्को प्रणाली युनिभर्सल रिक्रुटमेन्ट एडभान्स्ड प्लेटफर्मले पनि श्रम स्रोत देशहरूमा गाउँस्तरको भर्ना प्रक्रियामा हुने ठगी तथा शोषणलाई सम्बोधन गर्ने उद्देश्यले आफूले नयाँ प्रणाली विकास गरेको जनाएको छ । बेस्टिनेटले एसडब्लुसिएमएस, माइएमएमएस र एनआइआइएसई जस्ता प्रणालीहरूलाई प्रतिस्थापन गर्न नसकिने बताएको छ ।
विदेशी कामदार भर्नामा पारदर्शितामाथि प्रश्न उठ्दै जवाफदेहिताबारे चिन्ता व्यक्त भएपछि मलेसियाको संसद्मा विदेशी कामदार भर्नासम्बन्धी डिजिटल प्लेटफर्मबारे छलफल भएको हो । यसअघि मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी कामदार भर्ना प्रणालीका लागि अपनाइने डिजिटल प्रणालीबारे अध्ययन भइरहेको र कुनै पक्षसँग सम्झौता नगरिएको जनाएको थियो ।
बेस्टिनेटले एसडब्लुसिएमएसले सन् २०१७ मा भियनामा संयुक्त राष्ट्रसंघको विश्व शिखर सम्मेलन पुरस्कार प्राप्त गरेको विषयलाई पनि जोडतोडका साथ प्रचार गरेको छ । उसले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग मेल खाने डिजिटल शासनलाई अघि बढाउन एसडब्लुसिएमएस यथावत् राख्नु आवश्यक रहेको बताएको छ ।
मलेसियाले विदेशी कामदार भर्ना प्रक्रिया सञ्चालन गर्ने डिजिटल प्लेटफर्मका लागि एक अर्बभन्दा बढी मलेसियन रिंगेट विनियोजन गरेको छ । मलेसियाको संसद्मा डिएपी पार्टीका सांसद चाल्र्स स्यान्टियागोलगायतले एसडब्लुसिएमएसमा धेरै अनियमितता देखिएको भन्दै विदेशी कामदार भर्ना प्रणालीमा बेस्टिनेटको भूमिकामाथि प्रश्न उठाएका छन् ।


















