झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठसहित बहुमत पदाधिकारी र सदस्यहरुले सामूहिक रूपमा कार्यसमितिबाट राजीनामा दिएका छन् । संघका अध्यक्ष भूवनसिंह गुरुङले संघलाई निजी कम्पनीसरह सञ्चालन गरेको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । निर्वाचित ७ पदाधिकारीमध्ये ५ जना र निर्वाचित १० सदस्यमध्ये ६ जना गरी ११ जनाले सामूहिक हस्ताक्षर गरी राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा कार्यसमितिका प्रथम उपाध्यक्ष श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत राजीनामा बुझाएका उनीहरूले सोमबार साँझ संघको कार्यालय सिफलमा आयोजित पत्रकार सम्मेलनमा एक स्वरमा अध्यक्ष गुरुङमाथि सल्लाहकार, कार्यसमिति पदाधिकारी र सदस्यहरूलाई बेवास्ता तथा अवमूल्यन गर्दै संघलाई निजी कम्पनीसरह एकलौटी रूपमा सञ्चालन गरेको दाबी गरे । पत्रकार सम्मेलनमा राजीनामा दिने सबैले अध्यक्ष गुरुङले गत वर्ष वैशाख १ गते पदबहाली गरेदेखि नै एकपक्षीय कार्यशैली अपनाएको बताएका छन् ।
उनीहरूले अध्यक्षको कार्यशैली संस्थागतभन्दा व्यक्तिगत भएको, निर्णय प्रक्रिया निष्पक्ष, पारदर्शी र सामूहिक नभएको, सरकारी निकाय, व्यवसायी, कार्यसमिति तथा सरोकारवालासँग समन्वयकारी भूमिका प्रभावकारी रूपमा निर्वाह नगरेको, वैदेशिक रोजगार व्यवसाय तथा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहित र संरक्षणलाई पर्याप्त प्राथमिकता नदिई स्वकेन्द्रित ढंगले निर्णय गरेको आरोप लगाएका छन् ।
त्यसैगरी, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले उठाएका विषयहरूलाई महत्व नदिने, सल्लाहकारहरूको सुझाव नसुन्ने, सम्मानित सल्लाहकारहरूलाई अपमान तथा मानमर्दन गर्दै विधानविपरीत निष्कासन गरेको, संघका वैधानिक सल्लाहकारहरूलाई बेवास्ता गरेर अदृश्य समूहको उक्साहटमा लागेको, नीति, निर्णय र निकासका लागि छलफल तथा समस्या समाधानमा चासो नदिएको, संघभित्र स्वार्थकेन्द्रित तथा राजनीतिक प्रभाव हाबी भएको अनुभूति भएको, संघको नाम, इज्जत र प्रतिष्ठासँग जोडिएका व्यक्तिहरूलाई बदनाम गर्ने गतिविधि पटक–पटक दोहो¥याएको र संघमा ‘फुटाउ, जुधाउ र रमाउ’ को विकृति बढाएको लगायत १० बुँदे आरोप अध्यक्षमाथि लगाएका छन् ।
उल्लेखित कारणहरूले गर्दा संघको विधानअनुसार अपेक्षित क्षमता र एकताका साथ काम गर्न कठिन भएको निष्कर्षमा पुगेको भन्दै आफूहरू असहज अवस्थामा यथावत् रहिरहनुभन्दा ताजा जनादेश लिएर नयाँ नेतृत्व तथा कार्यसमिति चयन गर्नु नै संस्थाको हितमा हुने ठहरसहित सामूहिक राजीनामा दिएको महासचिव बस्नेतले बताए ।
उनीहरूले बहुमत पदाधिकारी तथा सदस्यको राजीनामापछि कार्यसमिति अल्पमतमा परेको हुँदा विधानअनुसार संघले प्रभावकारी निर्णय तथा कार्य गर्न नसक्ने अवस्था आएको भन्दै संघको विधानबमोजिम कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन् । अध्यक्ष गुरुङले भने आफू व्यवसायी र वैदेशिक रोजगारीमा जाने कामदारको हित तथा सिन्डिकेटविरुद्ध निरन्तर लडाइँमा रहेको बताउँदै आएका छन् । अध्यक्ष गुरुङले संघको विधानअनुसार अध्यक्षसमक्ष राजीनामा बुझाउनुपर्नेमा आफूलाई कसैले राजीनामा नदिएको बताए ।
आफू संघको विधानअनुसार पूर्ण बहुमतमा रहेको र सोही हैसियतले मंगलबार १ बजे कार्यसमिति वैठक राखेको जानकारी दिए । उनले समस्या समाधानको प्रतिबद्धतासहित कार्यसमितिमा निर्वाचित भएको पदाधिकारी वा सदस्यले आफ्नो प्रतिबद्धता र जिम्मेवारीविरुद्ध जान नहुने टिप्पणी गरे ।
यसैबीच सोमबार साँझको पत्रकार सम्मेलनपछि केही वैदेशिक रोजगार व्यवसायीले सम्पूर्ण व्यवसायीको तर्फबाट भन्दै संघको कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले २०८१ चैत १९ गते भएको निर्वाचनबाट सर्वसम्मत चयन भएको कार्यसमितिको बहुमतले राजीनामा दिएकाले हालको कार्यसमिति अल्पमतमा परेको र अर्को कार्यसमिति चयन नभएसम्म संघको कार्यालयमा ताला लगाई बन्द गरिएको सूचना कार्यालयको ढोकामा टाँसेका छन् ।

















