झापा । 

वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका–१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया बिमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ छन् ।

पक्राउ मध्ये शक्तिले न्यूजिल्याण्ड पठाइदिने एक जना पीडितबाट एक लाख ९५ हजार रूपैयाँ, बिमलाले अजरबैजान पठाइदिने भन्दै २ जना पीडितहरूबाट १३ लाख ६० हजार रूपैयाँ र रोशनले क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट २४ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बाट बिहीबार, बिमलालाई ललितपुर ग्वार्कोबाट शुक्रबार र रोशनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बाट शनिबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।