बिर्तामोड ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा सञ्चालन भएको ’दोस्रो मेयर कप २०८३ अन्तर वडा कराँते तथा किक बक्सिङ प्रतियोगिता’ को उपाधि बिर्तामोड–५ ले जितेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा शुक्रवार र शनिवार भएको प्रतियोगितामा दोस्रो बिर्तामोड–८ र तेस्रो बिर्तामोड–२ भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडाहरूलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने वडा–५ ले नगद ५० हजार, दोस्रो हुने वडा नं. ८ ले नगद २५ हजार र तृतीय स्थान हासिल गर्ने वडा नं. २ ले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी, प्रतियोगिताबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला र पुरुषतर्फ एक÷एक जना ‘बेस्ट फाइटर’ लाई जनही नगद ५ हजारका दरले पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिएको प्रतियोगिताका संयोजक खवासले बताए । त्यस्तै सहभागी खेलाडीहरुलाई पनि प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिजेता वडा तथा खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । जेठ १ र २ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाका कराँते तथा किक बक्सिङका प्रतिभावान खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ ।
स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउने र खेलकुदको माध्यमबाट नगरलाई चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारी दिए ।
उनका अनुसार नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, कराँते तथा किकबक्सिङ खेललाई अझ व्यवस्थित र सुदृढ, साथै नयाँ खेलाडी उत्पादन र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
बिर्तामोड नगर खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष सन्तोष गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, बिर्तामोड–३ का पूर्व वडाध्यक्ष भोजराज सिटौला, नेकपा एकाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सचिव विशन लिम्बुले गरेका थिए । कराँते तथा किक बक्सिङ प्रतियोगिताले नगरस्तरमा खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकले विश्वास लिएको छ ।


















