बिर्तामोड ।

झापाको बिर्तामोड–१ मा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले तीन महिनासम्म ओपीडी सेवालाई निःशुल्क गर्ने भएको छ । बालबालिकाको स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले बिर्तामोडस्थित अस्पतालमा नै वैशाख ७ गतेबाट वैशाख ३१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको अस्पतालले आगामी तीन महिनासम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको अस्पतालका प्रबन्ध निर्देशक तथा नवजात शिशु एवम् बालरोग विशेषज्ञ डा। रुपक आर्चायले जानकारी दिए ।

स्वास्थ्य शिविरमा दैनिक २० जनाभन्दा धेरै बिरामीले सेवा लिएका छन् । शिविर अवधिमा सयौं बालबालिका तथा नवजात शिशुले सेवा लिएका थिए । अझै पनि ग्रामिण क्षेत्र तथा आर्थिक रुपमा विपन्न परिवारले आफ्ना सन्तानको उपचारका लागि अस्पताल लैजान आर्थिक भारपर्ने भन्दै कुनै चेकजाँच बिना नै औषधि खुवाउने प्रचलन रहेकाले त्यसलाई सहज होस् भन्ने उद्धेश्यले तीन महिनासम्म ओपीडी सेवा निःशुल्क गरेको अस्पताल प्रशासनले जानको छ ।

आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकालाई लक्षित गरी गरिएको स्वास्थ्य शिविरमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ लगायतका स्थानबाट उपचारका लागि नवजात शिशु तथा बालबालिकाहरुलाई बिर्तामोड चिल्ड्रेन अस्पतालमा ल्याइएको थियो ।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा। सुजता मैनाली आचार्यले नवजात शिशुदेखि बालबालिकासम्मका बिरामीलाई विशेषज्ञ चिकित्सक टोलीमार्फत सेवा दिइरहेको बताइन् । बालरोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारमा विशेष ध्यान दिने जनाइएको छ । अत्याधुनिक ल्याब सेवासमेत सञ्चालनमा रहेकाले नवजात शिशु तथा बालबालिकाको रोगको पहिचान गरेर मात्रै उपचार पद्धति शुरु गर्ने गरेको अस्पतालले जानको छ । अस्पतालले २४ सै घण्टा विशेषज्ञ चिकित्सकको टोली मार्फत सेवा प्रदान गरिरहेको छ ।

अस्पतालमा बालरोग विशेषज्ञ डा।मंगल हेल्मुले सेमत सेवा शुरु गरेका छन् । जुनसुकै बेला आएका नवजात शिशु तथा बालबालिकाहरु चिकित्सक अभावमा फर्किन नपरोस् भनेर आफुहरुले विषेशज्ञ चिकत्सिकको संख्यामा वृद्धि गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालकी अध्यक्ष लीला मैनालीले स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुने पर्ने अवस्था सिर्जना नहोस् भनेर आफुहरुले तीन महिनासम्म ओपीडी सेवालाई निःशुल्क गरेको जानकारी दिइन् । बिर्तामोड चिल्ड्रेन अस्पताल जिल्लाकै पहिलो नवजात शिशु तथा बालरोग  अस्पतालका रूपमा परिचित रहेको छ । अस्पतालले शनिबारको दिन भने बालबालिमा मात्र नभई अन्य उमेर समूहका मानिसहरुको पनि ल्याव परिक्षण गर्ने जनाइएको छ ।