झापा । 

भद्रपुर–जलथल–राजगढ सडक खण्ड अन्तर्गत पर्ने हुलाकी राजमार्ग क्षेत्रमा देखिएको लामो समयदेखिको सडक समस्या तथा अधुरा पूर्वाधारप्रति युवा सामाजिक अभियान्ता ले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

खतिवडाले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरी, सुनसरीका प्रमुखलाई इमेलमार्फत पत्राचार गर्दै उक्त सडक खण्डअन्तर्गत पुल आसपासका क्षेत्रमा हालसम्म कालोपत्रे कार्य सम्पन्न हुन नसकेको, आवश्यक स्थानहरूमा नियमित मर्मत तथा सुधार कार्य अत्यन्त ढिलाइ भइरहेको र समग्र सडक अवस्था दिनप्रतिदिन थप जटिल बन्दै गएको विषय स्पष्ट रूपमा उठाएका छन्।

उनले पत्रमा सडकको अत्यन्त कमजोर अवस्था, पुल नजिकका अधुरा निर्माण संरचना तथा धुलो र हिलोले भरिएको सडकका कारण स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरूले दैनिक रूपमा ठूलो कठिनाइ व्यहोर्नुपरेको उल्लेख गरेका छन्। वर्षायाममा उक्त सडक खण्ड झनै जोखिमपूर्ण बन्ने गरेको र दुर्घटनाको सम्भावना उल्लेखनीय रूपमा बढिरहेकोप्रति उनले विशेष चिन्ता व्यक्त गरेका छन्।

खतिवडाले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिँदै यसको निर्माण तथा मर्मत कार्यलाई उच्च प्राथमिकताका साथ तत्काल सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, बाँकी रहेका कालोपत्रे, मर्मत तथा संरक्षण कार्यहरू प्रभावकारी र द्रुत गतिमा अघि बढाउन सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन्।

उक्त विषयलाई थप प्रभावकारी बनाउन उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, झापा क्षेत्र नं. ३ का संघीय सांसद, कोशी प्रदेश सांसद, सडक विभागका महानिर्देशक तथा जिल्ला प्रशासन कार्यालय झापालाई समेत बोधार्थमार्फत जानकारी गराएका छन्। स्थानीयवासी तथा यात्रुहरूको सुरक्षित, सहज र दीर्घकालीन आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।