शनिश्चरे । 

झापाको अर्जुनधारामा नगरपालिकामा सुविधासम्पन्न पहिलो रंगशाला निर्माण हुने भएको छ । आज (बिहीवार) एक कार्यक्रमका बीच अर्जुनधारा रंगशालाको शिलान्यास गरिएको छ ।

अर्जुनधारा– ७ मा चार बिघा क्षेत्रफलमा फुटबलका लागि खेल मैदान, एकतर्फ स्टेजसहितको पक्की प्यारापिट, पक्की नाला र फेन्सिङ निर्माण हुने नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । नगरप्रमुख गोम्देन, प्रमुख प्रशासीकय अधिकृत अनोजकुमार घिमिरे, रंगशाला निर्माण समितिका संयोजक मिलन बस्नेत, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले खेल मैदानको शिलान्यास गका हुन्।

नगरपालिकाका इन्जिनियर निरज अधिकारीका अनुसार रंगशालाको निर्माण २०८३ मंसिर २५ गतेभित्र सम्पन्न गर्नेगरी ठेक्का लागेको छ । बिर्तामोडको हिम–शेर्पा–थिङ–नुमा जेभीले बैशाख ३० गते रंगशाला निर्माणका लागि सम्झौता गरेको छ । नगरपालिकाको ७० प्रतिशत र संघीय सरकारको ३० प्रतिशत बजेटमा बन्ने अर्जुनधारा रंगशाला चार करोड ९४ लाख १७ हजार ७८५ रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर अधिकारीले बताएका छन् ।

रंगशालाको पश्चिम क्षेत्रमा बन्ने स्टेज, चेनिजङ रुम, शौचालयसहितको प्यारापिट तीन हजार दर्शक क्षमता रहने बताइएको छ । त्यस्तै, खेल मैदानको पनि स्तरोन्नति गरिनेछ । नयाँ माटो भरेर घाँस रोप्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।

यसैबीच रंगशाला निर्माण सम्पन्न भएलगत्तै नेपालकै सर्वाधिक राशि र स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिने निर्माण समिति संयोजक बस्नेतले जानकारी दिए । त्यसपछि पुरुष फुटबल पनि आयोजनाको तयारी गरिनेछ ।