बिर्तामोड। 

नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पतालबाट हटाए पनि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले सोही सेवा, सुबिधा र शुल्क अनुसारकै सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत हाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम हटाएपनि हाल त्यसै अनुसारको सेवा र सुबिधासहितको सेवा दिइरहेको जनाएको हो । 

पत्रकार सम्मेलनमा अस्पतालले आफ्नो सेवा विस्तार, उपलब्धि तथा भावी योजनाबारे पनि जानकारी गराएको थियो । पूर्वी नेपालको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउँदै आएको बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले सर्वसुलभ, गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका  जनसम्पर्क प्रमुख प्रमिश गिरीले जानकारी दिए। गिरीका अनुसार बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल छोटो समयमै झापा लगायत पूर्वी नेपालका सेवाग्राहीहरूको विश्वास जित्न अस्पताल सफल छ ।  उनका अनुसार अस्पतालमा हाल २२ वटा क्लिनिकल विभागमार्फत विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ भने अस्पतालमा १६ जना प्यारामेडिकल, ६४ जना मेडिकल अफिसर, ८० जना लेक्चरर, ४ जना एसोसिएट प्रोफेसर तथा ३५६ जना दक्ष नर्सिङ जनशक्तिले चौबीसै घण्टा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

पूर्वाञ्चल क्यान्सर अस्पतालका डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गतका सेवाहरू सञ्चालन गरिरहेको जानकारी दिएका छन् । उनले मृगौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराउँदै आएको समेत बताए।

डा. यादवका अनुसार आर्थिक वर्ष २०८२ मा अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उक्त अवधिमा १८ हजार ७२० जना आकस्मिक कक्षका बिरामी, २० हजार १६० जना भर्ना ९आईपीडी० बिरामी तथा ५० हजार ४०० जना बहिरङ्ग (ओपीडी) बिरामीले सेवा प्राप्त गरेका छन्। सोही अवधिमा ६ हजार ४८० जनाको सफल शल्यक्रिया सम्पन्न गरिएको उनले जानकारी दिए।

‘सबै सेवा एउटै छानामुनि’ भन्ने अवधारणाअनुसार अस्पतालले बिरामीलाई आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकीकृत रूपमा उपलब्ध गराउँदै आएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा ओपीडी, आधुनिक प्रयोगशाला, अनुसन्धान सेवा, जनरल वार्ड, एसी वार्ड, डिलक्स क्याबिन लगायतका सुविधा उपलब्ध छन्। साथै फिजियोथेरापी, पोषण तथा आहार व्यवस्थापन, बिरामी भोजन सेवा लगायत सहयोगी सेवाहरू पनि सञ्चालनमा रहेका छन्।

कार्यक्रममा मुटु रोग विभाग प्रमुख डा. उमेश यादवले पछिल्लो समय अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण मुटुरोगीको संख्या बढ्दै गएको बताए। त्यस्तै न्यूरो तथा स्पाइन सर्जन डा. निराजन पराजुलीले निकट भविष्यमै स्पाइन एन्डोस्कोपी प्रविधिबाट उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

डाक्टर पराजुलीले बीएण्डसी मेडिकल कलेजमा उपचार अत्यन्त महँगो हुने भन्ने गलत धारणा समाजमा फैलाइएको उल्लेख गर्दै अस्पतालले निम्न आय भएका तथा विपन्न वर्गका बिरामीलाई विशेष छुटसहित सेवा उपलब्ध गराउँदै आएको स्पष्ट पारे । कतिपय साना स्वास्थ्य संस्थाले बिरामीलाई बीएनसीमा नजान सुझाव दिने गरेको आफूहरूले सुन्ने गरेकोउनको भनाइ थियो।

पत्रकार सम्मेलनमा अस्पतालका विभिन्न विभागका प्रमुख चिकित्सकहरूले आफ्नो विभागअन्तर्गत भएका उपलब्धि, सेवा विस्तार तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

डाक्टर वीरेन्द्र यादवले हस्पिटल पूर्वी नेपालका नागरिकलाई आफ्नै क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको बताए । विशेषज्ञ जनशक्ति, अत्याधुनिक पूर्वाधार, आधुनिक प्रविधि तथा बिरामी केन्द्रित सेवामार्फत अस्पतालले नेपालको स्वास्थ्य क्षेत्रमा उत्कृष्टताको नयाँ आयाम स्थापित गरिरहेको उनको दाबी छ। पत्रकार सम्मेलनमा अस्पतालका बिभिन्न बिभागका डाक्टरहरु प्राधयापक डाक्टर उमेश शर्मा, प्राध्यापक डाक्टर बलभद्र दास, डाक्टर प्रल्हाद कार्की, डाक्टर बासु बास्कोटा, डाक्टर प्रमोद साणङ्वा, डाक्टर ज्याती लामा, डाक्टर अमित साह, डाक्टर प्रमोद सरावलगायले बिभिाग स्वास्थ्य सेवा बारे जानकारी गराएका थिए ।