झापा ।
झापाबाट लागू औषध सेवनकर्ता तथा कारोवार गर्ने ९२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको स्वीप अप्रेशन प्रहरी टोलीले झापा जिल्ला अन्तर्गत विभिन्न स्थानहरूमा स्वीप अप्रेशन गर्ने क्रममा शंकास्पद अवस्थामा हिडडुल गर्ने लागू औषध सेवनकर्ता ७९ जना पुरूष र ४ जना महिला तथा लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ३८ ग्राम ९९० मिलिग्राम र गाँजा ३ ग्राम ९०० मिलिग्रामसहित ९ जना गरी जम्मा ९२ जना मानिसहरूलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
असार १ र २ गते अर्थात २ दिनको अवधिमा प्रहरीले सञ्चालन गरेको स्वीप अप्रेशनमा सो संख्यामा लागू औषध सेवनकर्ता तथा कारोवार गर्ने पक्राउ परेका प्रहरीले जनाएको छ । साथै लागू औषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनस्र्थापना केन्द्रमा पठाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी लागु औषधसहित केही ब्यक्तिहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–३ का २७ बर्षीय बिकास भुजेल र भद्रपुर नगरपालिका–७ का ३० बर्षीया सरिता राजबंशीको साथबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम ०९० मिलिग्राम फेला परेको थियो ।
बिर्तामोड नगरपालिका–६ का १८ बर्षीय देवेन्द्र बि.क. को साथबाट खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक १ ग्राम ४२० मिलिग्राम फेला परेको, बिर्तामोड नगरपालिका –३ घर भई हाल बिर्तामोड–४ मा डेरा गरी बस्ने ३९ बर्षीय गणेशप्रसाद ओलीको साथबाट खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ३०० मिलिग्राम फेला परेको, बिर्तामोड नगरपालिका–४ का २६ बर्षीय चाल्स लिम्बु र बिर्तामोड–३ का ३० बर्षीय उमेश राजबंशीको साथबाट नेपालमा प्रतिबन्धित गाँजा ३ ग्राम ९०० मिलिग्राम फेला परेको बताइएको छ ।
त्यस्तै झापा शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीका एलेक्स भन्ने सुरज ढकालको घर कोठामा खानतलासी गर्दा लागू औषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक २० ग्राम ४१० मिलिग्राम फेला परेको र चितवनको भरतपुर महानगरपालिका–१४ का २४ बर्षीया सोनी खाती र मेचीनगर नगरपालिका–६ काँकडभिट्टाकी ६० बर्षीया सिता राजवंशीको साथबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक १० ग्राम ७७० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















