बिर्तामोड । 

झापाको बिर्तामोडमा  स्नुकर प्रतियोगिता सुरु भएको छ । मोफसलकै ठुलो पुरस्कार राशीको स्नुकर प्रतियोगिता आज (बिहीवार) देखि  सुरु भएको हो ।  ‘बिर्तामोड मेयर कप नेपाल मास्टर– २०८३’ प्रतियोगिता बिर्तामोड स्नुकरको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सह–आयोजनामा सुरु भएको छ । 

नेपाल मास्टर प्रतियोगितामा प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकि नगर प्रमुख पवित्रा महतरा प्रसाई गरेकी हुन् ।  प्रतियोगितामा राष्ट्रिय स्तरका १६ जना, कोशी प्रदेशका १६ जना खेलाडीको सहभागीता रहने पूर्व स्नुकर  खेलाडी तथा झापा जिल्ला बास्केट बल प्रतियोगिताका अध्यक्ष प्रकाश लिङ्देनले जानकारी दिए । उनका अनुसार त्यस मध्ये ८ जना खेलाडीहरु बिर्तामोडकै हुन् । 

बिर्तामोड अदुवा पुल नजिकै रहेको बिर्तामोड स्नुकरमा सञ्चालन भएको प्रतियोगिताको उपाधि विजेताले २ लाख र उप–विजेताले एक लाख नगद, ट्रफी, मेडल, सर्टिफिकेट प्राप्त गर्ने स्नुकरका सञ्चालक नवल अग्रवालले जानकारी दिए । 

यो नगद पुरस्कार राशी काठमाडौं बाहिरको ठुलो रहेको बताइएको छ । आयोजकका अनुसार हाइएस्ट ब्रेक गर्नेलाई ३५ हजार र सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई २५ हजार नगद प्रदान गरिने छ । स्थानीयस्तरमा ओझेलमा परेको स्नुकर खेललाई प्रतियोगिता मार्फत संरक्षण गर्दै खेलाडीहरुलाई प्रोत्साहन गर्दै प्रतिष्पर्धा गर्न सक्ने बनाउन कार्यक्रमको आयोजना गरिएको आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीले जानकारी दिए । 

बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विशन लिम्बुलेगरेका थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश प्रकाश लिङ्देन र सञ्चालन सञ्चारकर्मी तीलक योन्जनलेगरेका थिए । कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्मा, युवा व्यवसायी तथा सामाजिक ब्यक्तित्व सुवास भट्टराई,  रािष्ट्रय फुटवलका प्रशिक्षक प्रवेश कटुवाल, बिर्तामोड स्नुकरका सहयोगी, खेलप्रेमीलगायतको आतिथ्य रहेको थियो । प्रतियोगिताको फाइनल आगामी असार १२ गते हुने बताइएको छ ।