बिर्तामोड । 

बागमती प्रदेशको मकवानपुरमा तीन साताअघि भएको तीन दिने खुला बक्सिङ प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका झापाको एक बक्सिङ क्लबका प्रशिक्षार्थीलाई सम्मान गरिएको छ ।

बिर्तामोडमा आज (शनिवार) एक कार्यक्रमका बीच अर्जुनधारा –११ नयाँ बसपार्कको एक्सथ्री बक्सिङ क्लबका अञ्जन मल्ललाई विशेष सम्मान गरिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे र क्लबकी प्रबन्ध निर्देशक जोया सुब्बाले मल्ललाई सम्मानपत्र प्रदान गरेका हुन्।

झापामा अग्रज बक्सिङ प्रशिक्षक डम्बर लिम्बुका अनुसार झापाका मल्लसहित तीनजना खेलाडीले मकवानपुरको हेटौँडा–४ स्थित हेटौँडा कभर्ड हलमा सम्पन्न अल नेपाल ओपन यु–२२ ओपन बक्सिङ च्याम्पियनसिपमा पदक प्राप्त गरेका थिए ।

प्रदेश खेलकुद विकास परिषदको विशेष सहयोग र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा अञ्जन मल्लले स्वर्ण पदक प्राप्त गरेका थिए । उनी १९ वर्षमुनि विधामा सहभागी थिए । उनले फाइनलमा सुनसरीका असिम लिम्बुलाई हराउँदै प्रथम भएका थिए । अञ्जन ६५ केजी तौल समूहबाट प्रतियोगितामा सहभागी भएको प्रशिक्षक लिम्बुले जानकारी दिए ।

त्यस्तै, झापाका प्रतिक गौतमले रजत पदक प्राप्त गरेका थिए । यु–२२ विधामा सहभागी उनी सुनसरीका सिंहवीर लिम्बुसँग फाइनल राउन्डमा पराजित भए । उनी ५५ केजी समूहबाट सहभागी भएका थिए । त्यस्तै, युवराज भट्टराई कास्य पदकमा सीमित भए । यु–२२ विधामा ५० केजी समूहबाट प्रतिस्पर्धी बनेका भट्टराई सेमिफाइनलमा आयोजक हेटौँडामा फुङलाङ काम्बाङसँग पराजित भएको प्रशिक्षक लिम्बुले बताए ।

स्वागतसहित क्लवको अवस्था, क्लवले गरेको कार्यक्रम र आगामी योजनासहित कार्यक्रमको औचित्यमाथि प्रकाश क्लवकी  प्रबन्ध निर्देशक जोया सुब्बाले पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका फियाक सुब्बाले गरेकी थिइन् ।