झापा  ।  

क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो ।

पोर्चुगलले अब अन्तिम १६ मा छिमेकी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । टोरन्टोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा गोल पेनाल्टी कमब्याक सबै सम्भव भयो ।

इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगल बराबरी गोल फर्काउने प्रयासमा रह्यो । ५८औं मिनेटमा राफेल लिआओको प्रहार बारमा लागेर फर्कँदा पोर्चुगलले बराबरी गर्ने मौका गुमायो ।

तर कप्तान क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरेका थिए । क्रोएसियाका भ्लासिचले पोर्चुगलका रिकार्डो भेइगाको जर्सी तानेपनि भिएआरको सहयोको रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिएका थिए । जसमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरे । रोनाल्डोको गोलपछि खेलमा पुनरागमन गरेको पोर्चुगलले त्यसपछि क्रोएसियामाथि लगातार दबाब बनाएको थियो ।