बिर्तामोड । 

कोशी प्रदेश सभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) ले वर्तमान सरकारले संविधानमाथि नै प्रहार गर्ने खतरा बढेको बताएका छन् । आज बिर्तामोडमा सम्पन्न नेपाली कम्युनिस्ट पार्टीको एकीकरण बैठक, प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता आङबोले त्यस्तो बताएका हुन् । 

सरकारले घुमाउरो तरिकाबाट संविधानमाथि प्रहार गर्न खोजिरहेको उनले बताए । ‘सरकार चलाइरहेको दलको पहिलो महाधिवेशनले नै प्रदेश खारेजीको विषय उठाएबाट सरकार संविधान माथि नै प्रहार गर्न लागिरहेको देखिन्छ ’ उनले भने, । ‘सबै संवैधानिक निकायमा आफू अनुकूल मान्छे ल्याउने, दुवै सदनमा आफ्नो बहुमत पुर्याउने र संविधान नै संशोधन गरेर जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी मास्ने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी लागिरहेको छ ।’ संविधान नै मासिने खतराबाट मुलुकलाई जोगाउन सम्पूर्ण जनता एकजुट हुनुपर्ने उनको भनाई थियो । 

दुई तिहाई नजिकको बहुमत सहित सरकार सञ्चालन गरिरहेको पार्टीले जनतालाई राहत दिनुको साटो उल्टै स्वास्थ्य, शिक्षा, बिजुली जस्ता अत्यावश्यकीय क्षेत्रमा कर थोपरेर जनताको ढाड सेक्ने काम गरेको उनले बताए । 

तत्कालिन  नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी सहित विभिन्न घटकहरु मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेसँगै देशभर एकता बैठक चलिरहेको छ । 

झापामा खड्ग तिम्सिना (पवन) को संयोजकत्वमा ७९९ सदस्यीय संयोजन समिति गठन गरिएको छ । कार्यक्रमका बीच उनीहरूलाई पार्टीका प्रदेश सह इन्चार्ज सावित्रीकुमार काफ्ले समरले सपथ गराएका थिए । 

कार्यक्रममा पार्टीका प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ (मिक्सो) सहित र पर्शुराम बस्नेत तथा कार्यक्रमका प्रमुख अतिथि पार्टीका प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले आफ्ना धारणा राखेका थिए । पार्टीका झापा सहसंयोजक बिपी भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई सह–संयोजक रोम घिमिरेले स्वागत गरेका थिए ।