बिर्तामोड ।
नेपाल भलिबल संघले १३ औैं महाधिवेशनको तयारी सुरुसँगै आगामी आर्थिक बर्षको बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघले आज (सोमवार) काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०८३/०८४ को बार्षिक कार्यक्रम घोषणा तथा सार्वजनिकरण पनि गरेको हो ।
संघले सार्वजनिक गरेको बार्षिक कार्यक्रम अन्तरगत सुर्खेतमा ३५ औं राष्ट्रिय पुरुष तथा २५ औं राष्ट्रिय महिला भलिवल, काठमाडौंमा १० औं एन.मि.ए. महिला तथा पुरुष भलिबल च्याम्पियनशिप, टिबिडीमा ११ औं प्रधानमन्त्री कप एन.मि.ए. महिला तथा पुरुष भलिबल लिग, टिबिडीमा ७ औं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल, काठमाडौंमा यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल रहेका छन् ।
यसैगरी काठमाडौंमा इभिएल महिला फ्रेन्चाइजी लिग, काठमाडौंमा एनभिएल पुरुष भलिबल लिग, जापानमा २० औं एशियन गेम्स अन्तर्गत महिला भलिबल, भूटानमा सिएभिए बीच भलिबल टूर (महिला/पुरुष), काठमाडौंमा सिएभिए महिला च्याम्पियन्स लिग, काठमाडौंमा सिएभिए पुरुष भलिबल च्याम्पियनशिप, माल्दिसमा सिएभिए बीच भलिबल टुर, टिबिडीमा सिएभिए यू–१६ भलिबल च्याम्पियनशिप, काठमाडौंमा सिएभिए च्यालेन्ज कप (पुरुष), टिबिडीमा यू–१८ अन्तर विद्यालय भलिबल प्रतियोगिता, डिबिडीमा राष्ट्रिय रेफ्री कोर्स / रेफ्रेसर कोर्स, टिबिडीमा कोचेज कोर्स, टिबिडीमा मैत्रिपूर्ण खेल (महिला÷पुरुष), काठमाडौंमा थ्रि नेसन्स कपलगायतका कार्यक्रम घोषणा तथा सार्वजनिक गरिएको छ ।
आगामी आर्थिक बर्षको बार्षिक कार्यक्रम संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र महासचिव रोशन श्रेष्ठद्धारा सार्वजनिकसँगै हस्ताक्षरित गरिएको छ ।
यस्तै संघले महाधिवेशनका लागि ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि तोकेको छ । नेपाल भलिबल संघले १३ औं निर्वाचन महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ । संघको केन्द्रीय कार्यसमितिको बैठकले २०८३ असोज १५ गतेभित्र देशभरका जिल्ला तथा प्रदेश भलिबल संघहरूको पुनर्गठन सम्पन्न गर्ने निर्णयसँगै महाधिवेशनका लागि ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि तोकेको छ ।
महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने उद्देश्यका साथ संघले सातै प्रदेशका लागि केन्द्रीय प्रतिनिधि समेत तोकेको हो । नियुक्त प्रतिनिधिहरूले आ–आफनो प्रदेशमा जिल्ला तथा प्रदेश समितिको पुनर्गठन प्रक्रिया अघि बढाउनेछन् ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा मदन खड्का (संयोजक), लुम्बिनी प्रदेश भीम ओली, मधेश प्रदेश मोहम्मद फिरोज, कर्णाली प्रदेश मंगल श्रेष्ठ र श्याम श्रेष्ठ, बागमती प्रदेश गौतम लसिंबा, सुदूरपश्चिचम प्रदेश हरकसिंह धामी र गण्डकी प्रदेश यम बहादुर गुरुङलाई केन्द्र्यि प्रतिनिधि तोकिएको छ ।
संघका पदाधिकारीका अनुसार पुनर्गठन प्रक्रिया सम्पन्न भएपछि १३ औं निर्वाचन महाधिवेशनको मिति र विस्तृत कार्यतालिका सार्वजनिक गरिने संघका केन्द्रिय अध्यक्ष तथा महाधिवेशनका कोशी प्रदेश संयोजक मदन खड्काले जानकारी दिए ।


















