अर्जुनधारा ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधाराको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी संगठनलाई थप मजबुद बनाउँदै चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । अर्जुनधारा–७ स्थित पितृ भवनमा आयोजित कार्यक्रममा पार्टी एकतालाई स्थानीय तहसम्म बलियो बनाई जनताका समस्या र भावनासँग जोडिएर अघि बढेमात्र पार्टीले गति लिने निचोड निकालिएको हो ।
पार्टी नगर संयोजक नरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सचिव तथा एकता संयोजक लीलामणि पोखरेलको प्रमुख अतिथ्य रहेको थियो । पोखरेलले पार्टी एकता केवल संगठनको संरचना निर्माणमा मात्र सीमित नरही विचार, नीति र व्यवहारमा समेत लागूहुनुपर्ने बताए ।
उनले बदलिँदो राजनीतिक परिस्थितिलाई आत्मसात् गर्दै पार्टीका नेता तथा कार्यकर्ताले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय सदस्यद्वय चन्द्रा श्रेष्ठ, अशेष घिमिरे, जिल्ला संयोजक पवन तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए भने पार्टीको सर्कुलर संयोजक कुमार आचार्यले वाचन गरेका थिए ।
यसैबीच नारद दुःखीको संयोजकत्वमा ४३ जनाको संयोजन समिति गठन गरिएको थियो । उक्त समितिको घोषणा इन्चार्ज देवकुमारी प्रसाईले गरेकी थिइन् । नगर सहसंयोजक कृष्ण लुहारले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का सहसंयोजक नारायण पौडेलले गरेका थिए ।कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सहञ्इन्चार्ज बासु दुलाल, केन्द्रीय सदस्य तथा झापा सह–इन्चार्ज सीपी कडरिया, केन्द्रिय सदस्य ज्योतिसिंह दर्लामी, केन्द्रीय प्रचार विभागका उपञ्प्रमुख अशेष घिमिरेले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ, डिल्लीराम घिमिरे हिक्मत, पार्टी जिल्ला संयोजक खड्गबहादुर तिम्सिना पवन, सह–संयोजक बीपी भट्टराईलगायतको आतिथ्य रहेकोे थियो ।


















