झापा । 

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध विगतमा भएका कानुनी तथा राजनीतिक दबाबहरूलाई स्मरण गर्दै आफूलाई कसैले पनि दबाउन नसक्ने बताएका छन् । आज (बिहीबार)  स्वदेश फर्किएका उनले काठमाडौंको चुनदेवीस्थित संस्थापन इतरको सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

देउवाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा आफूविरुद्ध मुद्दा दायर गरिए पनि कुनै ठोस प्रमाण नदेखिएको दाबी गरे । अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा पुगेको उल्लेख गर्दै उनले त्यहाँबाट समेत आफूलाई पक्राउ नगर्ने निष्कर्ष आएको बताएका छन् । त्यस्तै, नेपालका अदालतहरूले पनि आफू र पत्नी डा. आरजु राणा देउवालाई पक्राउ नगर्न आदेश दिएको उनको भनाइ थियो ।

उनले आफूविरुद्ध पटक–पटक सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गरिए पनि कुनै अनियमितता प्रमाणित नभएको दाबी गरे । आफूविरुद्ध षड्यन्त्र भइरहेको आरोप लगाउँदै देउवाले त्यसबाट विचलित नहुने स्पष्ट पारे । अदालत जान आफू कहिल्यै नडराउने भन्दै उनले न्याय प्रणालीप्रति विश्वास व्यक्त गरे । 

सम्बोधनका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंगसमेत उल्लेख गरे । आफूलाई विगतमा राजतन्त्रले समेत दबाउन नसकेको दाबी गर्दै देउवाले प्रश्न गर्दै भने ‘राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ।’ उनले लोकतन्त्र र गणतन्त्र जनताको इच्छाबाट स्थापित भएको भन्दै यसलाई कसैले पनि उल्ट्याउन नसक्ने बताए । देउवाले समयले नै सत्य उजागर गर्ने उल्लेख गर्दै आफूविरुद्ध लाग्नेहरूलाई इतिहासले जवाफ दिने बताएका छन् ।