मेचीनगर ।
झापाको मेचीनगरमा आयोजित पारिजात टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एकता एकेडेमी दमकले जितेको छ। मेचीनगर–९ स्थित कवि शिरोमणि माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एकता एकेडेमीले उपाधि हात पारेको हो।
उपाधिसँगै एकता एकेडेमीले नगद २५ हजार रुपैयाँ, ट्रफी, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ। फाइनलमा उपविजेता बनेको नवदित एकेडेमीले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ।
भदौ २० गतेदेखि सुरु भएको प्रतियोगितामा झापाका विभिन्न विद्यालयका आठवटा स्कुल तथा एकेडेमीका टोलीको सहभागिता रहेको थियो। नयाँ तथा प्रतिभाशाली खेलाडी उत्पादन गर्ने र उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक पारिजात पब्लिक स्कुल मेचीनगर रहेको थियो भने सरस्वती क्रिकेट एकेडेमी मेचीनगर आयोजकका रूपमा रहेको थियो। प्रतियोगिताको अध्यक्षता सरस्वती क्रिकेट एकेडेमीका अध्यक्ष सजेश पुरीले गरेका थिए।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा पारिजात पब्लिक स्कुलका सहायक प्रिन्सिपल शिशिर पोखरेल, मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, पूर्व खेलाडी लाक्पा लामा तथा पत्रकार झुलन रेग्मी लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन राजु धिमालले गरेका थिए।
प्रतियोगिताले विद्यालय तहमा क्रिकेट खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा रहेका नयाँ खेलाडीलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकको भनाइ छ। आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै प्रतिभावान खेलाडी पहिचान र उत्पादनमा जोड दिने आयोजकले जनाएको छ।


















