झापा । 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले मलेसिया रोजगारी सम्बन्धी विवाद सकेसम्म छिटो समाधान गरिनुपर्नेमा जोड दिएका छन् । मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका २५ वटा म्यानपावर कम्पनीलाई प्रमुख एजेन्सी र थप २५० कम्पनीलाई सहायक एजेन्सीका रूपमा सूचीकृत गरेपछि त्यसमा नेपालले गम्भीर असहमति जनाएको छ । उक्त विषय युवा, श्रम तथा रोजगार मन्त्रालय हुँदै दुई देशका प्रधानमन्त्रीको तहमा पुगेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा संघका अध्यक्ष खत्रीले समान हैसियतमा रहेका नेपाली म्यानपावर कम्पनीहरूलाई मलेसियाको निजी कम्पनीले आफूखुसी छनोट गरेर कसैलाई मुख्य र कसैलाई सहायक कम्पनीका रूपमा सूचीकृत गरी ठुलो संख्यामा रहेका अन्य म्यानपावर कम्पनीलाई बाहिर राखेर अन्यायपूर्ण काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।

अध्यक्ष खत्रीले यो समस्या दुई देशबीचको कूटनीतिक तथा द्विपक्षीय संयन्त्रमार्फत सकेसम्म छिटो समाधान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच भएको टेलिफोन संवादलाई संघले सकारात्मक रूपमा लिएको भन्दै संयुक्त कार्यदलका माध्यमबाट मलेसियाको रोजगारीलाई सुरक्षित बनाउनुपर्ने अध्यक्ष खत्रीले बताए ।

नेपाल र मलेसियाका प्रधानमन्त्री तहको संवादपछि दुवै देशका श्रममन्त्रीबीच छलफल गरी नेपाली श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र शोषणमुक्त बनाउने विषयमा सहमति भएको थियो । त्यस विषयमा मलेसियाका मानव संसाधन मन्त्री रामानन् रामाकृष्णनले पनि सहमति जनाएका छन् ।

वैदेशिक रोजगार विभागले मलेसियाको प्रणालीमा सूचीकृत म्यानपावर कम्पनीको मागपत्रको पूर्वस्वीकृति रोकेर स्पष्टीकरणसमेत मागिसकेको छ । संघका अध्यक्ष खत्रीले नेपाली श्रमिकले विदेशमा कमाएर पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा उनीहरूको हकहित संरक्षणका लागि संघले अभियान सञ्चालन गरिरहेको बताए ।