दुधे । 

झापा महिला गोल्डकपको तेस्रो क्वार्टर फाइनलमा आज विभागीय टोली एपिएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन्स फुटबल क्लब खेल्दै छन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप शिवसताक्षीस्थित दुधे रंगशाला जारी छ । तीन दिनअघि धरानमा उपाधि जितेर आएको एपिएफले सेमिफाइनल प्रवेशका लागि भुटानी टिमको सामना गर्दैछ ।

एपिएफले राष्ट्रिय टिमका सदस्य एञ्जिला तुम्बापो, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ, सरु लिम्बु, रेनुका नगरकोटी, निशा थोकर, अञ्जना राना मगर, मनमाया दमाई लगायतका खेलाडी मैदानमा उतार्नेछ ।

त्यस्तै, भुटानको थिम्पु राभेन फुटबल क्लबले भुटानको राष्ट्रिय लिग खेलिसकेका खेलाडी, केही नेपाली लगायतका अनुभवी खेलाडी टिममा समावेश गरेको छ ।

प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुन आर्मी एफसी र सशस्त्र प्रहरीको एपिएफ एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेनडर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।