अर्जुनधारा ।
झापा अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रहेका सरोकारवालाहरुसँग नदीजन्य सामग्रीहरुको व्यवस्थापन वारे सार्वजनिक सुनवाईए गरेको छ । आर्थिक वर्ष ०७८÷०७९मा बिरिङ प्रणाली अन्र्तगत बिरीङ, टाङटिङ र ठूलो नेते नदीबाट प्रारम्भिक वातावरणीय परीक्षण(आईई) प्रतिवेदन अनुसार उत्खनन् एवम् संकलन गर्न सकिने नदीजन्य सामग्रीको विवरण, स्थल र परिमाणको विषयमा जानकारी गराउने उद्धेश्यले मंगलवार सुनवाई गरेको हो ।
नगरपालिकाले पहिलो कार्यक्रम टाङटिङ र गोयाङ नदीसँग प्रत्यक्ष सरोकार राख्नेसँग अर्जुनधारा–२ मा गरेको थियो । दोस्रो कार्यक्रम बिरीङ र ठूलो नेतेसँग प्रत्यक्ष सरोकार राख्ने अर्जुनधारा–१ मा गरेको थियो ।
भूगर्वविद् यदुनाथ तिम्सिनाले आईई प्रतिवेदनमा उल्लेख प्रस्ट पारेको कार्यक्रममा सहभागीहरुले मापदण्ड विपरित जथाभावी गरिएको उत्खननका कारण खानेपानीको समस्या, सिँचाईंको समस्या, नम्बरी जमिनमा रहेको नदीजन्य सामग्रीहरुको व्यवस्थापनको चुनौती, उत्खनन्का लागि स्पष्ट नीतिको आवश्यकतालगायतका सुझावसहित धारणा राखेका थिए ।
कार्यक्रमका नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले नगरको आन्तरिक स्रोतमा वृद्धी भई देशकै नमुना पालिका बनाउन सकिने हुँदा नदीजन्य सामग्री उत्खनन्मा देखिएको विकृतीहरु नियन्त्रण गर्न स्थानीयहरुको सहभागिता अनिवार्य रहेको बताए ।
नगर प्रमुख हरिकुमार रानाले प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्न आवश्यक स्रोत जुटाउन नगरपालिकाले मात्र नसक्ने भएको हुँदा त्यसको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हिमराज सेढाईंले गरेका थिए ।


















