सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका –७ मा रहेको दुर्गापुर बजार ५१ औ बर्षमा प्रवेश गरेको छ । विशेष कार्यक्रमका बीच बजारको स्वर्ण महोत्सव मनाइएको छ ।

२०२६ साल आश्विन १२ गते आइतबारदेखि साप्ताहिक बजारको रुपमा प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पूरा गरि ५१ औ बर्ष प्रवेशको अवसरमा संचालन गरिएको स्वर्णमहोत्सव वर्ष विविध कार्यक्रमका साथ शुक्रवार समापन गरिएको हो । दुई वर्षअघि नै उद्घाटन गरिएको स्वर्णमहोत्सव विविध कार्यक्रमका साथ वर्षभरी नै संचालन गर्ने गरी योजना निर्माण गरिएको भएपनि कोभिड महामारीका कारण एक बर्ष पछि आज समापन गरिएको कनकाई ७ का वडासदस्य प्रकाश शिवाकोटीले बताए ।

स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्य तथा झापा क्षेत्र नं. ४  प्रदेशसभा सदस्य झलक सिंह दर्लामीको विशिष्ट आतिथ्य रहेको थियो ।

आयोजक समितिका सदस्य शम्भुप्रसाद पोखरेलले स्वागत गरेको कार्यक्रममा वडा अध्यक्ष लिलाबहादुर कन्दङवाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । सो अवसरमा दुर्गापुर बजार व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, बजार तथा बजारमा रहेको मठ मन्दिरलाई जग्गा दान गर्नु हुने जग्गा दाताहरु, पहिलो व्यापारी, स्वास्थ्य कर्मी, ज्येष्ठ नागरिक लगायतलाई सम्मान गरिएको थियो ।

यसका साथै समितिले यस अघि संचालन गरेको विभिन्न खेलकुद कार्यक्रमका विजेताहरुलाई पदक तथा ट्रफि प्रदान गरेको थियो । सो अवसरमा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, माओवादी केन्द्रका जिल्ला संयोजक विजय साङपाङ राई, बाबुलाल अग्रवाल लगायतको शुभकामना मन्तव्य रहेको आयोजक समितिका सचिव राजु अधिकारीले बताए ।