- सुदिप गिरी
हल्दिबारी
तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी शुरु भएको छ । तिहार सकिएसँगै तराई–मधेसवासी छठ पूजाका सामाग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले सम्पूर्ण तराई–मधेशका प्रमुख बजारहरुमा छठको सामाग्री किनबेचको चहलपहल बढेको छ ।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । बजार तथा पसलमा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ ।
खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री नाग्लो, डालोसमेत खरिद गरिन्छ ।अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफार्इ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ । स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाउन सुरु गरेका छन् ।
झापाको मेची ,बिरिङ्ग, देउनिया, नदि, सागर, तलाउ लगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा मेची नदिको किनार सिङ्गार्न जुटेका छन् । छठ पूजाका लागिका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् ।
विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । भोलिदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुने गर्छ ।


















